देउवा दम्पती अझै फरार सूचीमा
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणादेउवा अहिले फरार सूचीमा छन्। सरकारले उनीहरुको सम्पत्ति छानवनिका लागि भन्दै पक्राउ पुर्जी जारी गरेको छ। उनीहरु विदेशमा रहेका बेला पक्राउ पूर्जी जारी गरेको भएपनि खोजवीनका लागि भने अन्र्तराष्ट्रिय प्रहरी संगठनलाई सहयोग मागिएको छैन।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा र पूर्वपरराष्ट्र मन्त्रीरहेकी देउवापत्नी राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट चैत २५ मा पक्राउ पुर्जी जारी भएसँगै अब उनीहरू कसरी कानुनी दायरामा आउछन् भन्ने विषयमा चासो बढेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान जारी रहेका बेला देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर गएका थिए।
पछिल्लोपटक उनीहरू हङकङ पुगेको तस्बिर सार्वजनिक भएपनि अहिले उनीहरू कुन मुलुकमा छन भन्ने प्रष्ट छैन । जुनसुकै कसुरमा अनुसन्धान जारी रहेका बेला व्यक्ति फरार भएर विदेश पुगेमा इन्टरपोलमार्फत पनि नेपाल ल्याउन सकिन्छ । तर यसको प्रकृया अघि बढेको छैन् ।
जेन–जी आन्दोलनका क्रममा २४ भदौमा सांघातिक आक्रमणमा परेका देउवा दम्पतीलाई सेनाले उद्धार गरी अस्पताल पु¥याएको थियो । अस्पतालमा केही समयको उपचारपछि दुवैजनाले ३ असोजमा नयाँ राहदानी बनाएका थिए। लगत्तै दुवैजनाले थाइल्यान्डको भिसा लिएका थिए। तर, १० कार्तिकमा उपचारका लागि उनीहरू सिंगापुर गएका थिए।
करिब ३ साता सिंगापुर बसाइपछि २८ कार्तिकमा दुवैजना नेपाल फर्किएका थिए । त्यसपछि आरजु पारिवारिक कारण देखाउँदै २१ पुसमा भारत गएकी थिइन् । त्यतैबाट उनी सिंगापुर पुगिन्।
देउवा भने प्रतिनिधिसभा निर्वाचनको एकसाताअघि १३ फागुनमा उपचारको लागि भन्दै पुनः सिंगापुर गएका थिए । केही समयअघि देउवा दम्पती हङकङ पुगेको तस्बिर सार्वजनिक भएपछि सरकारले उनको परिवारलाई घुमफीर र बसाईमा नेपाली महावणिज्यदूतले सहयोग गरेको भन्दै त्यहाँबाट विन्देश्वर लेखकलाई परराष्ट्रमन्त्रालय हाजिर हुन भनिएको छ। उनी रमेश लेखकका भाइ हुन् ।
सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा। लेखकलाई फिर्ता बोलाएको अरु कुनै कारण नभई देउवा दम्पत्तिलाई सहयोग गरेको भन्ने आरोप हो।
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा। लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको हो । लेखकसँगै महावाणिज्यदूत भएका अन्य कर्मचारी भने उतै रहेका छन् । उनलाई भने देउवादम्पत्तिसँग उठबस रहेको आधारमा फिर्ता बोलाइएको स्रोतको दाबी छ ।
यस्तै अहिले देउवा पुत्र जयवीर पनि विदेशमै रहेका छन् । जेन–जी आन्दोलन अगावै १७ भदौमा उनी नेपालबाट थाइल्यान्ड गएका थिए । तीन दिनअघि ९१४ भदौ० मात्रै उनी थाइल्यान्डबाट काठमाडौं आएका थिए । थाइल्याण्ड गएका उनी पनि सिंगापुर हुँदै हङकङ पुगेका थिए ।
सम्पत्ति शुद्धिकरण विभागले देउवा दम्पत्तिविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा ९२० र ९४०, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन, २०६४ को दफा १५ ९क० तथा ऐनको दफा १६ को उपदफा ९१० को देहाय खण्ड ९क० अनुसार पक्राउ अनुमति मागेपछि छोरा बुहारीहरु पनि नेपाल आउने अवस्था नरहेको बताइन्छ ।
पारिवारिक सदस्य भएका कारण उनीहरु पनि छानवीनमा पर्ने हुँदा तत्कालै उनीहरु नेपाल नआउने संभावना रहेको निकट स्रोतको दावी छ। फौजदारी कार्यविधि संहिताको दफा ९ मा कसुरसँग सम्वन्धित व्यक्ति पक्राउ गर्न सकिने उल्लेख छ।
उक्त दफाको उपदफा १ मा ‘कसुरसँग सम्बन्धित कुनै व्यक्ति फेला परेमा वा कसुर गर्दागर्दैको अवस्थामा रहेमा निजलाई प्रहरी वा अनुसन्धान अधिकारीले पक्राउ गर्न सक्नेछ’ भनिएको छ। तर, पक्राउ नपरेमा अनुसन्धान अधिकृतले त्यस्ता व्यक्तिविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिन सक्ने व्यवस्थालाई सरकारले उपयोग गरेको देखिन्छ।
