कतार श्रमिक विवाद: समाजसेवी तथा व्यवसायी कार्कीको प्रतिवाद,षड्यन्त्रपूर्ण चरित्रहत्याविरुद्ध कानुनी लडाइँ लड्छु
काठमाडौं । समाजसेवी एवम् प्रतिष्ठित व्यवसायी लोकेन्द्र बहादुर कार्कीले आफूविरुद्ध सञ्चालित भइरहेको अभियानलाई पूर्वनियोजित चरित्रहत्याको संज्ञा दिँदै आपत्ति जनाएका छन्। गत मंसिर ९ गते विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कतारमा ९ श्रमिकलाई बिचल्ली बनाउने नेपाली व्यवसायी कार्की शीर्षकमा प्रकाशित समाचार पूर्णतः भ्रामक, निराधार र दुर्भावनापूर्ण नियतका साथ प्रसारित गरिएको उनकाे दाबी छ।
कार्कीले आफ्नो सफाइमा प्रस्तुत गरेका सरकारी अभिलेख, तलब भुक्तानी विवरण, रोजगार करार कागजात र विभिन्न कानुनी दस्तावेजहरूले कामदारहरूले स्वेच्छाले कम्पनी परित्याग गरेको तथ्यलाई प्रमाणित गर्ने उनको भनाइ छ। उनका अनुसार, सञ्चारमाध्यममा पीडितको रूपमा प्रस्तुत भएका श्रमिकहरूले कम्पनी प्रशासनसँग कुनै समन्वय वा पूर्वसूचना नदिई एकतर्फी रूपमा रोजगारी सम्बन्ध विच्छेद गरेपछि उल्टै आफूहरूलाई पीडित देखाउने उद्देश्यले बनावटी कुरा तयार गरेको आरोप कार्कीले लगाएका छन्।
हाम्रा कामदारहरूले आफैंले कम्पनी छाडेको विषय सरकारी रेकर्डमा स्पष्ट रूपमा उल्लेख छ। तर उनीहरूले आफूलाई पीडित देखाउने नाटकीय प्रस्तुति दिइरहेका छन्, जुन पूर्णतः तथ्यविपरीत र गलत हो,कार्कीले भने।
कार्की पक्षले कतारस्थित केही प्रवासी नेपाली समूह तथा संस्थाहरूले घटनाको वास्तविकता र तथ्य परीक्षण नगरी सामाजिक सञ्जालमा अफवाह, फेसबुक लाइभ, स्टाटस र विभिन्न दुर्भावनापूर्ण पोस्टमार्फत घटनालाई अतिरञ्जित बनाउने षड्यन्त्र गरेको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, यी समूहहरूले कुनै ठोस प्रमाण र आधार नभएको अवस्थामा पनि एकपक्षीय रूपमा कार्कीको व्यक्तित्व र व्यावसायिक प्रतिष्ठामाथि आक्रमण गर्ने काम गरेकाे बताए।
कतार प्रवासी समूह र विभिन्न संस्थाको प्रत्यक्ष उक्साहट र प्रोत्साहनबाट बनावटी पीडित निर्माण गरियो। सामाजिक सञ्जालमा हल्ला र अनावश्यक हल्ला सिर्जना गरेर कम्पनी र व्यक्तिगत प्रतिष्ठामाथि सुनियोजित प्रहार गर्ने केही व्यक्ति तथा समूह संगठित रूपमा सक्रिय भएको हामीले देखेका छौं,कार्कीले भने।
उनले कामदारहरूले स्वयं कम्पनी त्यागेको तथ्य प्रमाणसहित प्रस्तुत भइसकेको परिस्थितिमा पनि उल्टै आफूलाई पीडित प्रस्तुत गर्ने दाबी मञ्चन गरिएको बताउँदै यो सम्पूर्ण घटनाक्रम पूर्वनियोजित चरित्रहत्या अभियानको भएको बताए।
कार्कीले आफूविरुद्ध लगाइएका सम्पूर्ण आरोपलाई आधारहीन, मनगढन्ते र तथ्यविपरीत भन्दै कानुनी प्रक्रियामार्फत प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनले झुट बोलेर जनतालाई भ्रममा पार्ने र भिडलाई उक्साएर व्यक्तिगत चरित्रहत्या गर्ने व्यक्ति तथा समूहहरू अब कानुनी कारबाहीबाट उम्कन नसक्ने बताएका छन्।
झुठो र बनावटी कथा सिर्जना गरी जनमानसमा भ्रम फैलाउने र भिडलाई उक्साएर मेरो चरित्रहत्या गर्ने सबै व्यक्ति र समूह अब कानुनी प्रक्रियाबाट भाग्न सक्दैनन्। हामीसँग तलब भुक्तानीको पूर्ण विवरणदेखि लिएर बसोबास अनुमति, रोजगार करार र सम्पूर्ण सरकारी कागजातका प्रामाणित प्रमाणहरू सुरक्षित रूपमा रहेकाे छन्,कार्कीले बताएका छन्।
उनले थपे, मेरो व्यक्तिगत प्रतिष्ठामाथि खेलिएको यो षड्यन्त्रपूर्ण खेल अब कानुनी प्रक्रियाबाट अगाडि बढाउने बताए। त्यसपछि सत्य कुरा सार्वजनिक हुने र कसले झुट बोलेको र कसले सत्य बोलेको सबैलाई थाहा हुनेछ उनले भने।
यस विवादको सम्बन्धमा गैरआवासीय नेपाली संघ, एनआरएनले आवश्यक चासो नगरेको र उल्टै असहयोगपूर्ण मनोवृत्ति देखाएको गुनासो समेत कार्कीले व्यक्त गरेका छन्। विदेशमा रहेका नेपालीहरूको हित संरक्षण र समस्या समाधानको लागि गठित संस्थाले यस्तो गम्भीर र संवेदनशील विषयमा उदासीन र निष्क्रिय रहेको भन्दै उनले खेद प्रकट गरेका छन्। एनआरएनले यस विवादमा तटस्थ र न्यायोचित भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो नगरेको कार्कीको आरोप छ।
यसैबीच, मंसिर १९ गते दूतावासमा यस विषयसँग सम्बन्धित विशेष छलफल सम्पन्न भएको र निकट भविष्यमा सम्बन्धित कामदारहरूसहित खुला संवाद तथा सञ्चारमाध्यमसँग विस्तृत एवम् तथ्यपरक प्रतिक्रिया दिने प्रक्रिया औपचारिक रूपमा सुरु भएको कार्कीले जानकारी दिएका छन्। उनले भने आगामी दिनहरूमा सबै सरोकारवालासँग पारदर्शी र खुला छलफल गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्ने योजना बनाएको छु।
कार्कीका अनुसार,आगामी संवादमा श्रमिक,सञ्चारकर्मी र अन्य सरोकारवाला सबैलाई समावेश गरी घटनाक्रमका सबै पक्ष प्रमाणसहित खुलासा गरिने बताए। उनीहरूले आफूसँग भएका सम्पूर्ण दस्तावेज, रेकर्ड र प्रमाणहरू सार्वजनिक गर्दै सत्यलाई जनसमक्ष प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।
कतारमा श्रमिक र व्यवसायीबीच उत्पन्न विवाद सार्वजनिक बहस र चर्चाको केन्द्रबिन्दु बनिरहँदा कार्कीले उठाएका प्रश्न,प्रस्तुत गरेका दस्तावेजी प्रमाण र दिएको कानुनी चुनौतीले घटनाक्रमलाई थप गम्भीर,जटिल र संवेदनशील बनाएकाे देखिएकाे छ। यसले वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत नेपाली व्यवसायी र श्रमिकबीच उत्पन्न हुने विवादको निष्पक्ष अनुसन्धान,तथ्यपरक मूल्याङ्कन र न्यायोचित समाधानको आवश्यकतालाई मध्य नजर गर्नुपर्ने देखिएकाे छ।
अब आगामी कानुनी प्रक्रिया र दुवै पक्षबाट हुने खुला अभिव्यक्तिले घटनाको वास्तविकता के हो,कसले सत्य बोलिरहेको छ र कसले झुट भन्ने विषय छिट्टै स्पष्ट रूपमा उजागर गर्ने विश्वास कार्की पक्षले दृढताका साथ व्यक्त गरेको छ।
सत्यको अन्तिम निर्णय न्यायिक प्रक्रियाबाट मात्र हुने र न्याय निश्चित रूपमा विजयी हुने उनको दाबी छ। कार्कीले आफू पूर्णतः निर्दोष रहेको र आफूविरुद्ध लगाइएका सबै आरोप षड्यन्त्रपूर्ण र मनगढन्ते भएको पुनः दोहोर्याउँदै कानुनी लडाइँमा अन्त्यसम्म लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सम्पूर्ण विवाद प्रवासी नेपालीहरूको अधिकार संरक्षण, रोजगारदाताको दायित्व र कर्तव्य, तथा विदेशमा कार्यरत नेपाली नागरिकको सम्मान र प्रतिष्ठाको प्रश्नसँग जोडिएको छ। घटनाको सत्यता र वास्तविकता कानुनी प्रक्रियाबाट मात्र स्थापित हुने भएकाले दुवै पक्षका दृष्टिकोणलाई संयमित र जिम्मेवार ढंगले हेर्नुपर्ने आवश्यकता देखिएकाे छ।
