चुनाव कसरी सफल पार्ने भनेर सोचौँ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएकी छिन्।

प्रधानमन्त्रीले आज बालुवाटारमा आह्वान गरेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाउँदै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गरिन्।

उनले भनिन्,चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ,कसरी चुनाव सफल पार्ने भनेर सोचौँ, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, एक सय २६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन।

उनले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी,सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गरिन्।