निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चयको दिशामा लैजानु: मन्त्री खनाल
काठमाडौं। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
आइतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज)को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारलाई तीन वटा काम पूरा गर्नुपर्ने दायित्व रहेको र त्यसमध्ये एउटा निर्वाचन भएको जिकिर गरे।
निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु रहेको बताए। अनिश्चयले युवालाई थप निराश बनाउने उनको भनाइ छ। संविधान बमोजिम समयमा निर्वाचन गर्नुपर्ने दायित्व वर्तमान सरकारको रहेको बताए।
मुलुक अहिले परिवर्तनको संघारमा रहेको तर परिवर्तन भइनसकेको बताउनु भयो। जेन–जी आन्दोलन आर्थिक समृद्धिको लागि नभइ भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भएको बताए।अर्थमन्त्री खनालले समाजमा रहेका गलत जुनसुकै क्रियाकलापलाई पनि नियन्त्रण गर्नैपर्ने बताए।
