दोलखामा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु, एक घाइते

काठमाडौं। दोलखाको बैतेश्वर गाउँपालिका –६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्का खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

आइतबार बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ जाँदैगरेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५ मिटर तल तामाकोसी नदी किनारनजिकै बगरमा खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकलमा सवार दुबै जनालाई उद्धार गरी पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा बैतेश्वर गाउँपालिका –१ गैरीमुदीका ३० वर्षीय अंकितराज उप्रेतीको मृत्यु भएको अस्पतालका चिकित्सकले पुष्टि गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि सवार मेलुङ गाउँपालिका –१ पोवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका छन्। लामाको बायाँ घुँडा र गर्दनमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।