‘बोक्दाबोक्दै पानी, गयो जवानी’, अहिले आयो आँगनमै धारा
देवारतोली । कालीकोटस्थित देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन्।
गाउँ आउन केही वर्षअगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो। यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फ समथर बाटो हिँडेपछि नाक नै ठोकिने भिर आइपुग्छ । भिरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली लाग्छ ।
तिलगुफा नगरपालिका–२ स्थित यस भिरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्षअगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो। चामलको बोरा बोकेर भिरमा उक्लिँदै गर्दा उनी चिप्लिएर भिरमै अड्किएका थिए । गाउँले मिलेर उनलाई उद्धार गरे।
उनले त्यो दिनको त्रासदी सम्झिँदै भने, ‘चालमको बोरा लिएर साँझमा घर आउँदै थिएँ। आधाआधि भिरमा पुगेपछि चिप्लिएछु। झण्डै तिलानदीमा पुगेको। धन्न भिरमै अड्किएछु। भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन्। टाउँकामा चोट लागेछ। नेपालगन्जमा गएर उपचार गर्दा सात लाख सकियो।’
भिरको पुछारबाट माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ। यो भिरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे, पानी लिन जाँदा कति गाग्रा गाग्री गुल्टे, देवारतोलीवासी सम्झन चाहँदैनन्। पछिल्लो समय गाउँलेले भिरको नाम नै ‘चन्द्रेभिर’ राखिदिएका छन्।
तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा–१ ढाटाक्किवासी अहिले पनि यही भिर माथिका जंगलमा घाँस दाउरा लिन आउँछन्। भिर सकिनेबित्तिकै केही समथरको जंगलमा सल्लाका रुख छन्।
जंगल सकिएपछि गाउँ आउन पुनः उकालो लाग्नुपर्छ। यही उकालोकै बीचमा सीमसार क्षेत्रमा पानीको सानो मुहान छ। पानी संकलन गर्न ट्यांकी बनाइएको छ । महिलालाई गाउँका पुछारमा रहेको ट्यांकीबाट पानी भर्न घण्टौँ लाग्थ्यो। यत्तिकै सयम पानी लिएर घर आउँदा व्यतीत हुन्थ्यो। यहाँका बासिन्दा हिउँदयाममा मूल सुक्दा तिला नदीमै जान बाध्य हुन्थे।
देवारतोलीकी ६८ वर्षीया सानी विकले कष्टकर ती दिन सम्झिँदै भनिन्, ‘पानी बोकेरै जवानी बित्यो। भिरबाट कति गाग्रा लडेँ भनिसक्नु छैन। थकान मार्ने र काखे बच्चालाई हेर्ने समय पानी खेप्दैमा सकिन्थ्यो। तिर्खा मेटाउने गरेर पानी पिउन सक्ने अवस्था थिएन। बस्तुभाउलाई त पानी खुवाउन तिलानदीमै लैजानुपर्दथ्यो। सागसब्जी लगाउन त परै जाओस्।’
पछिल्ला केही दिनयता देवारतोली गाउँका महिलाको दैनिकी परिर्वतन भएको छ । हिजोजस्तो उनीहरू साँझ बिहान नत गाग्री बोकेर हिँड्छन् न त पानी भएन भनेर चिन्तित हुन्छन्। बालबालिका समयमै विद्यालय जान पाएका छन्। आगनका डिलमुनिका बारीमा खेर गएका पानीबाट सागसब्जी लगाउन थालिएको छन्।
घरका आँगनआँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेका छन्। दलित समुदायको करिब ४५ घर र करिब ३०० जनसङ्ख्या रहेको यो गाउँमा वर्षौंपछि खुसीको दिन आएको हो।
उनले भनिन्, ‘आँगनमा धाराबाट पानी झरेको दिन खुसीले रातभर निद्रा लागेन। धारा नै हेरिरहुँ जस्तो भइराखेको छ। बल्ल पानीको चिन्ता हट्यो। अब त सागसब्जी खान पाइने भयो। बस्तुभाउलाई खुवाउन समस्या नहोला। आलु लगाउन पाइएला।’
उब्जनीले वर्ष दिन पनि खान नपुगेपछि यहाँका पुरुष कामको खोजीमा अन्यत्र जाने गर्दछन्। नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ले गाउँमा ‘एक घर एक धारा’ निर्माणमा सहयोग गरेको हो।
लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सो कार्यक्रम सञ्जालित छ । देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिचन्द्र विक गाउँमा अब खानेपानीको संकट अन्त्य भएको बताउँछन्।
उनी भन्छन्, ‘गाउँभन्दा करिब चार किलोमिटर माथिको जंगलको मुहानबाट पानी ल्याएर ट्यांकीमा संकलन गरेका छौँ। ट्यांकी बनाउनदेखि घरघरमा धारा बनाउन नगरपालिका र रेडक्रसले सहयोग ग¥यो। यसमा हामी खुसी छौँ।’
उनका अनुसार गाउँका धारामा समान रूपमा पानी वितरण गरिएको हुँदा समुदाय रमाएका छन्। समितिका सदस्यसमेत रहेका चन्द्रबहादुरले भने, ‘भिरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ। यसका लागि नगरपालिका र रेडक्रसलाई धन्यवाद दिन्छु।’
तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्याय देवारतोलीका सबै घरमा ‘एक घर एक धारा’ निर्माण गरेर खानेपानीको पहुँच पु¥याउने आफ्नो ध्येय रहेको र यो ध्येय सफलता पाएको बताउँछन्।
नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपन्न समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई रेडक्रसले प्रवद्र्धन गरिराखेको जानकारी दिए।
‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ का जिल्ला संयोजक रवि लामिछानेले स्थानीय समुदायको मागअनुसार कार्यक्रमले गाउँका ४५ घरमा ‘एक घर एक धारा’ निर्माण तथा ‘चन्द्रेभिर’मा रेलिङ बनाउन स्थानीय समुदायलाई सहयोग गरेको बताए।
उनले भने, ‘देवारतोलीमा चरम खानेपानीको संकट समाधान भयो। समुदायको मागअनुसार नै चन्द्रेभिरमा रेलिङ निर्माण गरिएको छ। अब भिरमा लडेर अकालमा गाउँवासीको ज्यान जाँदैन।’
सोही कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा तिलागुफा–३ बदमबाडा टोलका ४८ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ।
दलित टोल बदमबाडा खानेपानी उपभोक्ता समितिका सदस्य एवं कालिका माविका शिक्षक धीरेन्द्र पाण्डेले भने, ‘खानेपानीको चरम संकट भएर गाउँबाट बसाइसाराइ बढ्दै थियो। यस्तो अवस्थामा नगरपालिकाले रेडक्रससँगको सहकार्यमा ‘एक घर एक धारा’को सुविधा पु¥याएको छ । महिलाको समय बचत भएको छ। बालबालिकाल पढ्ने समय पाउँदा शैक्षिक गुणस्तरसमेत वृद्धि भएको देखिएको छ।’ रासस
