समयमै निर्णय नगर्ने प्रवृत्ति स्वीकार्य हुँदैन: उर्जामन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समयमै निर्णय नलिने परिपाटीले देशका पूर्वाधार आयोजनाहरू रुग्ण हुँदै गएको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘रुग्ण ठेक्का सम्बन्धी’ सरोकारवालासँग छलफल कार्यक्रममा बोल्दै उनले विकास आयोजनाहरूमा देखिएको निर्णय नगर्ने रोग नै देश विकासको मुख्य बाधक रहेको बताएका हुन् ।
पदमा बसेर पनि समयमै निर्णय नलिने र दायित्वबाट पन्छिने प्रवृत्ति अब स्वीकार्य नहुने उनले चेतावनी दिए । भौतिक पूर्वाधार मन्त्रालय, उर्जा मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले मन्त्रालय र विभागहरूमा आफ्नै ठेक्काको यकिन तथ्याङ्कसमेत नरहेको भन्दै असन्तुष्टि पोखे ।
सडक विभाग अन्तर्गत मात्रै करिब २१०० ठेक्का चालु अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘विभागका महानिर्देशकलाई सोध्दा पनि कुन ठेक्का कहाँ छ थाहा हुँदैन । स्थानीय र प्रदेश तहका समेत जोड्दा देशभर १० औँ हजार ठेक्का अलपत्र हुन सक्छन् । यसको सही व्यवस्थापन नहुँदा जनताले वर्षौँदेखि सास्ती पाएका छन् ।
मन्त्री घिसिङले आयोजनाहरू समयमै सम्पन्न नहुँदा राज्यको पुँजीगत खर्च हुन नसकेको र त्यसले समग्र अर्थतन्त्रलाई शिथिल बनाएको बताए । ‘ठेक्का लाग्दैन, लागे पनि काम हुँदैन। जबसम्म निर्माण कार्य हुँदैन, तबसम्म रोजगारी सिर्जना हुँदैन,’ उनले भने, ‘पैसा बजारमा नगएपछि आर्थिक गतिविधि ठप्प हुन्छ । एउटा ठेक्का रोकिनु भनेको केवल काम रोकिनु होइन, देशको जिडिपी र रोजगारीमा धक्का लाग्नु हो ।

