एमालेले महाधिवेशनमा क-कसलाई अतिथि बोलायो
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन १६ दललाई निम्तो दिएको छ ।
एमालेको अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको हो ।
जसमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, मजदुर किसान पार्टी (नेमकिपा)लाई आमन्त्रण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो गरिएको छ । रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई आमन्त्रण गरिएको छ ।
यसबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्तो गरेको छ।
जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई पनि पत्र पठाएर निम्तो गरिएको अतिथि सत्कार समितिकी सदस्य सुनिता बराले जानकारी दिइन् ।
यसैबीच एमालेको महेश बर्तौला लगायत प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमै पुगेर देउवालाई निमन्त्रण दिएका छन् । देउवाले सकेसम्म आउने वचन दिएका छन् ।

