जाँचबुझ आयोगमा सशस्त्रका आईजीपीको बयान सुरु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको बयान सुरु भएको छ । आयोगले बयानका लागि मङ्गलवार आउन पत्राचार गरेको थियो । बयानका लागि आईजीपी अर्याल आयोगको कार्यालय सिंहदरबार पुगेका हुन् ।

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआईजीसँग बयान भएको थियो । यस्तै आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन ठूलो मानवीय क्षति भएपछि २४ गते बिहानै कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको थियो ।

यसअघि आयोगले दुवै प्रहरीका फिल्ड कमाण्डरहरुको बयान लिइसकेको छ । आईजीपी कार्कीको बयानपछि गृहसचिवलाई बोलाउने आयोगको तयारी छ । त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइने आयोगले जनाएको छ।

ओलीले भने सार्वजनिक रूपमै आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्। आयोगले ओली र लेखकसहितलाई विदेश जान तथा काठमाडौँ उपत्यका छाड्न पनि आयोगले प्रतिबन्ध लगाएको छ।