क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारी डिल्लीबजार कारागारको ‘क’ ब्लकमा

काठमाडौं। नागरिक उड्डयन प्राधिकरण क्यानका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएको छ।

विशेष अदालतको आदेशपछि २१ मंसिरमा कारागार चलान भएका अधिकारीलाई कैदी संख्या अधिकांश रहेको ‘क’ ब्लकमै राखिएको कारागार स्रोतले जानकारी दियो। उक्त ब्लकमा करिब ४ सय कैदीबन्दी छन्।

डिल्लीबजारमा पुग्ने भीआईपी कैदीहरू प्रायः ‘ख’ ब्लकमा बस्ने गरे पनि यो पटक ‘ख’ ब्लक खाली नभएकाले अधिकारीलाई ‘क’ ब्लकमा सारिएको बताइएको छ।

भक्तपुरको नलिन्चोकमा निर्माण गरिएको हेलिपोर्टमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा उनी पुर्पक्षका लागि थुनामा छन्।

त्यस्तै विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग गरेको छ । त्यस्तै पूर्वनिर्देशक मुरारी भण्डारीसँग १ लाख धरौटी मागेको छ ।

मङ्गलवार विशेष अदालतका सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा भएको थुनछेक बहसमा उनीहरूसँग उल्लेखित धरौटी लिएर रिहा गर्न आदेश भएको हो ।

यसअघि नलिनचोक हेलिपोर्ट भ्रष्टाचारको मुद्दामा भने विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । त्यस्तै भण्डारीलाई भने ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।