भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरुले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताएकी हुन् ।

‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातित उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्’, उनले भनिन् ।

उनले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्ष रुपमा धम्क्याए पनि आफूहरु नडराउने बताइन् । सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरुलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरिन्।