एनपीएल: इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ। एनपीएलको इलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल दिउँसो ४ बजेदेखि शुरु हुँदैछ ।

इलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने छ भने पराजित हुने टिमको एनपीएल यात्रा समाप्त हुने छ।

समुह चरणमा भएको खेलमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो। लिग चरणमा काठमाडौँ गोर्खाजले ७ खेलमा ५ जित हासिल गरेको थियो भने २ खेलमा हार बेहोरेको थियो। त्यस्तै लुम्बिनी लायन्सले ७ खेलमा ४ खेल जितेको थियो भने ३ खेलमा हार बेहोरेको थियो।

लुम्बिनीबाट कप्तान रोहित पौडेलले सर्बाधिक २०८ रन बनाएका छन् भने डिआर्ची शर्टले १६४ रन बनाएका छन्। त्यस्तै दिलिपनाथले ११३ र सन्दीप जोराले ९२ रन बनाएका छन्।

त्यसैगरी काठमाडौँका बेन चार्लेजवोर्थले सर्बाधिक १९७ रन बनाएका छन् भने जोन सिम्प्सनले १५४, आकास त्रिपाठीले ११७ र मिलिंद कुमारले ११३ रन बनाएका छन्।

अर्कोतर्फ लुम्बिनीबाट बलर शेर मल्लले सर्बाधिक १० विकेट लिएका छन् भने रुबेन ट्रम्पेलम्यानले ८ विकेट लिएका छन्। त्यस्तै काठमाडौँबाट बलर शाहाब आलम र करण केसीले सर्बाधिक १२-१२ विकेट लिएका छन् भने मिलिन्द कुमारले १० विकेट लिएका छन्।