सरकारी जग्गाः कतै कौडीको भाउमा भाडामा,कतै व्यक्तिका कब्जामा

सांकेतिक तस्वीर

काठमाडौं महानगरपालिका वडा नम्बर २८, भुकृटीमण्डप व्यापारिक केन्द्र हो । त्यहाँ थुप्रै व्यापार व्यवसाय सञ्चालन भएको पाइन्छ । तर, ती व्यापार व्यवसाय सबै सरकारी जग्गा सञ्चालन भएको छ । भुकृण्डीमण्डपमा धेरै सरकारी जग्गा छ ।

व्यवसायी संघले त्यहाँको सरकारी जग्गा भाडामा लिएको छ । र, त्यही जग्गा सयौं व्यापार व्यवसायीलाई भाडामा लगाउँदै आएको छ । व्यवसायी संघ तथा ठेकेदारले त्यहाँका व्यवसायीसँग मासिक पाँच हजादरेखि १५ हजार रुर्पयाँसम्म असुल्ने गरेको छ ।

तर, संघले चाँहि राज्यलाई महिनाको एक सयदेखि १५ सय रुपैयाँ भाडा बुझाउने गरेको छ । त्यो भाडा पनि नतिरेको ६ महिनादेखि वर्षौ बितिसक्यो । भुकृण्डीमण्डपकै अन्य सरकारी जग्गामा घर, भवनलगायत संरचना बनेको पाइन्छ । कतिपय भवन भाडामा लगाइएको छ, त्यो पनि चर्को भाडामा ।

सरकारी जग्गामा संरचना बनाई भवन भाडामा लगाएर ठेकेदार मोटाइरहँदा राज्य भने रित्तो छ । ठेकेदारहरुले राज्यलाई सुको रकम तिर्दैनन् । अर्कोकुरा, त्यहाँ सञ्चालित प्रायजसो व्यापार व्यवसायको दर्ता नै छैन त व्यापारीहरु सर्वसाधारणलाई ठग्नु ठग्छन् ।

उनीहरु पाँच सय पर्ने सामानलाई पाँच हजार रुपैयाँ भन्छन् । भुकृण्टीमण्डपसँगै जोडिएको पुतलीसडकको जग्गाको सरकारी मूल्य आनाको ४० लाख रुपैयाँ छ । यद्यपि, त्यहाँ आनाको तीन करोडदेखि १४ करोड रुपैयाँसम्ममा जग्गा किनबेच हुने गरेको छ ।

पुतलीसडक, बागबजार, खसीबजारलगायत एरियामा एउटै कोठाको मासिक भाडा दश हजारदेखि ३० हजार रुपैयाँसम्म छ । काठमाडौं उपत्यकाका सबैजसो ठाउँमा कोठा भाडा चर्को छ । त्यस्तै, एउटा सटरको ५० हजारदेखि २० लाख, एक फ्ल्याटको ३५ हजारदेखि तीन लाख र खाली सटर २० लाखदेखि ६० लाखमा किनबेच हुने गरेको छ ।

बत्ती, पानी, फोहोर, इन्टरनेट, सवारी साधन पार्किङ्गको घरधनीले मागेजति शुल्क तिर्नुपर्छ । सँगै जोडिएको ठाउँमा यति चर्को भाडा छ अनि भुकृण्डीमण्डपको सरकारी जग्गामा चाँहि ठेकेदारहरुको मोजमस्ती चलेको छ । एकातिर कबाडीको भाउमा जग्गा पाएका छन्, अर्कोतिर त्यँही भाडा पनि तिर्न अटेर गर्छन् ।

भुकृण्डीमण्डपको अहिलेको सरकारी जग्गा पाँच दशकअघि व्यक्तिको थियो । बागबजार, पुतडीसडक, न्यूरोड, इन्द्रचोकका स्थानीयको भुकृण्डीमण्डपको जग्गा खेत थियो । उनीहरुले यहाँ खेतीपाती गर्थे । तर, सरकारले यो जग्गा प्रतिरोपनी एक हजार रुपैयाँमा अतिक्रमण गर्यो ।

सरकारले २०२१ सालमा जग्गा नापजाँच गर्यो । काठमाडौं–वडा नम्बर २९, कालिस्थान बाँसघारी र त्योमुनि पुतलीसडक, कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानथान, धोवीखोला, बिजुलीबजार, काठमाडौं सिडिओ कार्यालय दायाँबायाँ, माइतीघर दायाँबायाँ र रामशापथस्थित अन्नपूर्ण अस्पताल सञ्चालित जग्गा सरकारी भनि नापी टोलीले ढड्डामा लेखेको थियो ।

उता, मैत्रीदेवीमा पेट्रोल पम्प सञ्चालित र दायाँबायाँ बनेका घर, भवनलगायत संरचना रहेको जग्गा पनि सरकारी नै भनि लेखिएको थियो । २०२९ सालसम्म धोवीखोला बगेर घट्टेकुलो चोक र सिंहदरबारसम्म आइपुग्थ्यो भन्नेहरु अझै भेटिन्छन् । घट्टेकुलोमा पानी घट्टे, राज कुलो थियो भन्नेहरु अहिलेपनि छन् । यस्तै, तीन दशकअघिसम्म कालिस्थान बाँसघारीमा बाँसघारी नै थियो ।

अहिले बाँसघारी फाँडेर केरा रोपिएको छ । सँगै पहिले खाली रहेको पुतलीसडकको जग्गामा घरैघर बनिसकेको छ । ०४६ सालअघि यो ठाउँमा केही पनि बनेको थिएन । तत्कालिन सरकारले यहाँ घोडा पाल्ने योजना बनाएको थियो । ०२१ सालमा नापी हुँदा यी ठाउँका जग्गा सरकारी, गुठी र हदबन्दी बढीमा राखिएको थियो ।

०४६ चैत २४ गते पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । उनले सिंहदरबारपछाडिको बाटो खोलिदिए । त्यसपछि पञ्चायती सरकारले घोडा पाल्ने भनेको सबै सरकारी जग्गा व्यक्तिका नाममा गयो । सरकारी जग्गा धमाधम कब्जा भयो र निजी घर, भवन बनाउन थालियो ।

अहिले यहाँ एक आना जग्गासमेत खाली छैन । सबैतिर घरैघर बनेका छन् । काठमाडौंमा मात्र होइन, उपत्यकाभरि र देशभरिका सरकारी जग्गा कब्जा भएका छन् । भक्तपुरमा ०२१ सालमा जग्गा नापी भएको थियो । भक्तपुर क्षेत्र नम्बर २, मा अहिले सूर्यविनायक नगरपालिका रहेको स्थानमा सरकारी विद्यालय थियो ।

नगरपालिका बनाउने भएपछि त्यो विद्यालयलाई सारेर सुशील भैरवथाननजिक लगियो । अब रोचक कुरा के छ भने नगरपालिका बसेको आसपास अहिले निजी घर बनेका सबै जग्गा सरकारी हुन् । नगरपालिका छेउमै सडक डिभिजन र लेखापरीक्षणको कार्यालय छ । यद्यपि, कसैलाई पनि सरकारी जग्गा कब्जा भएकोप्रति चासो छैन ।

उता, नगरपालिका पहिले भाडामा बसेको जग्गा पनि सरकारी हो । त्यहाँ पनि नेवार र थापा जातिका मानिसहरुले जग्गा कब्जा गरेर घर बनाएका छन् । नगरपालिका बनाउन विद्यालय सारिएको सुशील भैरवथानमा त वडाध्यक्षले नै मन्दिरको जग्गा कब्जा गरेका छन् ।

मन्दिरको जग्गामा स्थानीय वडाध्यक्ष राजकुमार जोशीले ठूलो घर बनाएका छन् । उनका भाइहरुले पनि सरकारी जग्गामै घर बनाएका छन् । वडाध्यक्ष जोशीको घर तलपट्टी पहिले आल र सयौं रोपनीको खाली चौर थियो । जहाँ स्थानीयहरुले गाइभैसी चराउँथे । तर, अहिले त्यो चौर पनि कब्जा भएको छ ।

त्यहाँ घरैघर बनेका छन् । सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित लिखानारायण मन्दिरनजिक सरकारी जग्गामा पिकनिक स्पोर्ट सञ्चालन भएको छ । त्यहाँ आउने प्रत्येकसँग एक हजार रुपैयाँ असुलिन्छ । तर, त्यो रकम नगरपालिका वा वडाको खातामा नगई एमाले नेता महेश बस्नेतसहितको गोजीमा जाने गरेको छ ।

भक्तपुर क्षेत्र नम्बर २, को लाखौं रोपनी सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, तालतलैया, पोखरी, हदबन्दी बढी, वनजंगललगायतका जग्गा व्यक्तिका नाममा गइसकेको छ । यो क्षेत्रको सरकारी जग्गा कब्जा गर्ने कांग्रेस, एमाले र मजदुर किसान पार्टीका कार्यकर्ता हुन् । यस्तै, भक्तपुर क्षेत्र नम्बर १, मा पनि लाखौं रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गएको छ ।

राजपरिवारसहित सरकारी, गुठी, हदबन्दी बढीका जग्गा यहाँ कब्जा भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १, सल्लाघारी आर्मी ब्यारेक, चंगा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क, सिर्जनानगर, राधेराधे र त्यहाँस्थित भाटभटेनी, निर्माणाधीन १५ गते भवन, राजेश हार्डवेयर, ड्राइभिङ सेन्टर र घरहरु बनेका जग्गा ०२१ सालमा नापी हुँदा सरकारी, गुठी, ऐलानी भनि लेखिएको थियो ।

यहाँ पहिले खाली ठाउँ वा घारी थियो । यहाँ कटुञ्जेका मानिसहरुले आफ्ना गाईवस्तु चराउँथे । ०२९ सालसम्म यहाँ एउटै घर बनेको थिएन । ०३२ सालमा मजदुर किसान पार्टीका एक कार्यकर्ताले छाप्रो हाले र ०३५ सालमा ढुंगामाटोको घर नै बनाए । त्यतिबेला मुलुकमा पञ्चायती व्यवस्था थियो ।

मजदुरका अध्यक्ष नारायणमान बिजुक्ँछे, प्रेम सुवाल, मेयर सुनिल प्रजापतिलगायत भूमिगत थिए । उनीहरुले आफ्ना कार्यकर्तालाई जग्गा कब्जा गर्न लगाए अनि बहुदलीय व्यवस्था आउनासाथ उनीहरुकै नाममा त्यो जग्गा पास गरिदिए । ०२४ सालमा सल्लाघारी तीनकुनेमा राजा महेन्द्रले एक सय आठ रोपनी दुई आना एक दाम जग्गा स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा किनेका थिए ।

०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा गयो । तर, अहिले यो जग्गा बढीमा ६०–६५ रोपनीमात्र बाँकी छ । अरु जग्गा मजदुर किसान पार्टीका कार्यकर्ताले कब्जा गरेर घर ठड्याएका छन् भने जग्गा भाडामा लगाएर भक्तपुर नगरपालिकाले मोटो रकम असुल्दै आएको छ ।

तीनकुने चौरअगाडि ठूलो घर छ । जहाँ किरानादेखि फलफूल, चिया पसल र ब्यूटीपार्लरसम्म सञ्चालन भएको छ । त्यो घर विकुलाल खिउँजुले बनाएका छन् । उनले तीन वटा ढुंगेधारा मासेर घर बनाएको स्थानीयको आरोप छ । एमालेले मंसिर २७ गतेदेखि २९ गतेसम्म आफ्नो ११ औं महाधिवेशन यही सल्लाघारी चौरमा गर्दैछ ।

मजदुर किसान पार्टीले पनि आफ्नो आठौं महाधिवेशन ०८१ प्mागुन १६ गतेदेखि १९ गतेसम्म यही जग्गामा गरेको थियो । जनता अहिले सरकारलाई सोध्छन्–आफ्नै आँगनको जग्गा कब्जा भइरहँदा टुलुटुलु हेर्ने सरकारले भारत र चीनले कब्जा गरेको दार्जिलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेक कसरी फिर्ता ल्याउँछ ?

अब प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले कि त कब्जा गरिएका सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्नुपर्छ नभए नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्छ ।