स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ। मन्त्रालयले सूचना जारी गरेर रामशाह पथमा रहेको भवनबाट प्रवाह हुँदै आएको मूलभूत सेवाहरू मंगलबारदेखि सिंहदरबारबाट सुरु गरेको जानकारी दिएको हो।

मन्त्रालयले केही महाशाखा/शाखा/एकाइबाट प्रवाह हुँदै आएका सेवाहरू साबिककै स्थानबाट निरन्तर प्रवाह भइराखेका र आवश्यक स्थानको प्रबन्ध गरी सम्पूर्ण सेवाहरू सिंहदरबारबाट क्रमशः प्रवाह गरिने पनि जनाएको छ।

रामशाहपथ स्थित मन्त्रालयको भवनमा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी गरिएपछि मन्त्रालयले आफ्नो सेवा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट दिँदै आएको थियो।