एनपीएलः लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डू बाहिरियो

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा पुगेको छ। लुम्बिनी अब फाइनल प्रवेशको लागि विराटनगर किंग्सको सामना गर्नेछ भने काठमाण्डूको यात्रामा भने पूर्णविराम लागेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

लुम्बिनीको जितमा ओपनर डी‘एर्सी शर्टे ३४ बलमा दुई छक्कासहित ३३ रन बनाए । सन्दीप जोराले २३ बलमा एक चौका र एक छक्कासहित २३ रन नै थपे । कप्तान रोहितकुमार पौडेलको नाममा १८ रन बनाए । दीनेश अधिकारी चार रनमा पभेलियन फर्किँदा निरोसान डीकवेलाले १४ रन बनाए । दीलिप नाथले सात रन जोडे ।

काठमाण्डूका सन्तोष यादवले दुई विकेट लिए । सन्नी पटेल, साहब आलम, कप्तान करण केसी र राशिद खानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।

काठमाण्डूका सन्तोष यादवले सर्वाधिक २२ रन बनाए । आदील आलम र जोन सिम्पसनले समान १८ रन बनाए । भीम सार्कीले १४ रन थपे । कप्तान करण केसीले १४ बलमा नौ रन जोडे ।

काठमाण्डूबाट शीर्षक्रममा क्रमशः ओपनिङ, तेस्रो र चौथो नम्बरमा आएका बेन चाल्र्सवर्थले चार, आकाश त्रिपाठीले एक, सन्नी पटेलले सात र मिलिन्द कुमारले दुई रनमात्र बनाउन सके । राशिद खानले दुई रन जोडे ।

काठमाण्डूलाई सस्तैमा समेट्न लुम्बिनीका स्पिन शेर मल्लले तीन विकेट लिए । चार ओभरमा शेरले २२ रनमात्र खर्चिए । कप्तान रोहितकुमार पौडेलले पनि चार ओभरको स्पेलमा २५ रन खर्चिएर तीन विकेट नै हात पारे । रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । ३.१ ओभरमा उनले एक मेडनसहित सात रनमात्र खर्चिए । अभिशेष गौतमको नाममा एक विकेट लिए ।

एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गरेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए ।

प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो । यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो।

प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार हुने तालिका छ। यो खेलमा जित निकाल्ने टिमले उपाधि निम्ति शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।