रवि र छविको मुद्दा सुनुवाइका लागि आज पेशी

काठमाडौं। सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ।

मुद्दा सुनुवाइको लागि बिहीबार पेसी चढाइएको उच्च अदालत बुटवल प्रशासनले जनाएको छ। केही बेरपछि इजलास निर्धारण हुनेछ। यसअघि दुईपटक रवि पक्षका कानून व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रूपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रूपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।