प्रधानमन्त्री जसले बाँडे पनि एमाले-कांग्रेसबाहेक अरूले सरकार बनाउन सक्दैन: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी नेतृत्व बाँडफाँट गर्ने हल्लालाई हाँस्यास्पद भन्दै निर्वाचनपछि एमाले र नेपाली कांग्रेसबाहेक अन्य कुनै शक्तिले सरकार बनाउन नसक्ने दाबी गरेका छन् ।
मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको नेकपा एमालेको ११औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनअघि विभिन्न व्यक्तिहरूले प्रधानमन्त्री पद बाँडेको हल्ला चले पनि निर्वाचनपछि त्यो पद एमाले–कांग्रेसकै हातमा पुग्ने स्पष्ट पारे।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै ओलीले प्रधानमन्त्रीको हल्लामा नाम जोडिएका व्यक्ति ‘अलि बाठै होलान्’ भन्ने ठानेको भए पनि पछिल्ला गतिविधि र निर्णयहरू हेर्दा त्यो अनुमान गलत सावित भएको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाहबीच भएको सहमतिप्रति इङ्गित गर्दै उनले भने,पार्टी सभापति एउटालाई, उपसभापति अर्कोलाई, पार्टी अर्कैलाई जिम्मा लगाएर आफू प्रधानमन्त्री बन्ने रु यो त अस्ती सिंहदरबारमा आगजनी भइरहँदा प्रधानमन्त्री बाँडेझैँ हो। त्यतिबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री घोषणा गरिएको भन्दै उनले व्यङ्ग्य गरे।
अध्यक्ष ओलीले प्रधानमन्त्री पद कसले कसलाई बाँडिरहेको भन्ने चर्चा चले पनि यथार्थमा एमाले र कांग्रेसबाहेक अन्य दलले सरकार गठन गर्न सक्ने अवस्था नरहेको दाबी गरे।
त्यसैगरी, उनले असंवैधानिक रूपमा विघटन गरिएको संसद् तत्काल पुनर्स्थापना हुनुपर्नेमा जोड दिए। सरकार बनाउने, हटाउने र परिवर्तन गर्ने वैधानिक थलो संसद् नै भएको उल्लेख गर्दै असंवैधानिक व्यक्तिबाट संसद् विघटन गरिँदा संविधान नै सङ्कटमा परेको बताए।
संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै अध्यक्ष ओलीले यसको फैसला ढिलो हुनु न्याय नदिनु सरह हुने टिप्पणी गरे।
एउटै मुद्दा वर्षौँसम्म बोकेर हिँड्न सकिँदैन,उनले भने,ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो । संसद् पुनर्स्थापना गरेर मात्रै वर्तमान राजनीतिक सङ्कटको समाधान सम्भव छ।
