ओखलढुंगामा एक दम्पतीको घरभित्रै विभत्स हत्या
काठमाडौं । ओखलढुंगाको चिशङ्खुगढीमा एक दम्पतीको विभत्स हत्या भएको छ। चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमायाको मंगलबार राति हत्या भएको हो।
बिहान अबेरसम्म घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी सुरु गर्दा दुवै जना हत्या गरिएको अवस्थामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको ओखलढुंगा प्रहरीले जनाएको छ।
धरानबाट तालिम प्राप्त कुकुर समेत ल्याएर घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रमबहादुर भट्टराईले जानकारी दिए। हत्या कसले र किन गर्यो खुलेको छैन। दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ।
