प्रहरीका एसपीबाट एसएसपी बढुवामा अझै अन्योल

काठमाडौं । व्याचीहरु बढुवा भएर महत्वपूर्ण जिल्लाहरु कमाण्ड गरिसक्दा पनि कोही बढुवाको पर्खाइमा रहेका छन् । काठमाडौं परिसरका प्रमुख रमेश थापाले परिसर कमाण्ड गरेको चार महिना पुग्न लाग्यो, बढुवा भएको त आधा वर्ष नै बढी भयो तर उनका व्याचीहरु अहिले पनि एसएसपी बढुवाको पर्खाइमा रहेका छन् ।

नेपाल प्रहरीमा अहिले १० एसएसपीको बढुवा तयारी भएको छ । अर्थमन्त्रालयले तीन एसएसपीको दरवन्दी थप गर्ने स्वीकृत गरेसँगै १० एसएसपीको बढुवा तयारी भएको हो । केही दिनमा मन्त्रिपरिषद बैठकले ३ एसएसपीको दरवन्दी स्वीकृत गर्ने भएको छ। अहिले प्रहरीमा ७ एसएसपी पदको दरबन्दी खाली रहेको छ । सो खाली रहेको दरवन्दीसँगै १०पुगेको हो । १० पदका लागि यतिबेला १७ प्रतिस्पर्धी रहेका छन् । जसमा ३ विभागीय र १४ खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिस्पर्धा रहेको छ। अहिले उनीहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् ।

बढुवाको पहिलो नम्बरमा रामप्रकाश शाह र दोस्रोमा भुवनेश्वर तिवारी रहेका छन्। (शाह राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण) र तिवारी (२०५५ मा असईबाट सेवा प्रवेश) छन् । तिवारी आइजीपी कार्कीका जिल्लावासी पनि हुन् । बाँकी १४ अधिकृत २०५८ साउन १८ को खुला इन्स्पेक्टर ब्याचका हुन्, जसका २५ सिनियर अधिकारीहरू एसएसपी भइसकेका छन्। रिक्त रहेको एसएसपीका लागि तेस्रो नम्बरमा ऋषिराम कँडेल छन्।

त्यसैगरी चौथो नम्बरमा एसपी सुरेश काफ्ले छन्। काफ्ले नेपाल प्रहरीभित्र संगठन चलाउने क्षमता, कार्यक्षमता र व्यावसायिक निष्ठाका कारण ‘अब्बल अफिसर’का रूपमा चिनिन्छन्।

नेपाल प्रहरी संगठनभित्र अनुशासन, कार्यकुशलता र व्यावसायिक निष्ठाका आधारमा चिनिने एसपी सुरेश काफ्ले पछिल्लो समय ‘अब्बल अफिसर’का रूपमा स्थापित हुँदै गएका छन्। संगठन सञ्चालन गर्ने स्पष्ट दृष्टिकोण, निर्णय क्षमता र जिम्मेवारीप्रति देखाएको प्रतिबद्धताले उनलाई सहकर्मी र उच्च नेतृत्व दुवैको विश्वासिलो प्रहरी अधिकृत बनाएको छ।

सेवाकालभर विभिन्न जिम्मेवारीमा रहेर काम गर्दा काफ्लेले कमाण्ड क्षमता मात्र होइन, जनमुखी प्रहरी सेवाको अभ्यासलाई पनि प्राथमिकतामा राख्दै आएका छन्। अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता वृद्धि र संगठनभित्र अनुशासन कायम गर्न उनले अपनाएको कार्यशैली प्रशंसित छ। मातहतका प्रहरी कर्मचारीलाई प्रेरित गर्दै टोलीको सामूहिक क्षमता उजागर गर्न सक्ने क्षमताका कारण उनी नेतृत्व तहमा समेत उदाहरणीय अधिकृतका रूपमा हेरिन्छन्।

काफ्लेको कार्यसम्पादनमा पारदर्शिता र निष्पक्षता प्रमुख विशेषताका रूपमा देखिन्छ। राजनीतिक वा अन्य दबाबबाट टाढा रहेर कानुन र विधिको शासनअनुसार काम गर्ने उनको शैलीले प्रहरी संगठनको साख मजबुत बनाउन योगदान पुगेको छ। सेवाग्राहीसँगको व्यवहारमा समेत शिष्टता र संवेदनशीलता देखाउँदै आएका काफ्लेले प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउने दिशामा सक्रिय भूमिका खेलिरहेका छन्।

नेपाल प्रहरीलाई अझ व्यावसायिक, सक्षम र जनविश्वासयुक्त संस्थाका रूपमा अघि बढाउन काफ्ले जस्ता अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ। 

त्यस्तै अमरेन्द्रबहादुर सिंह एसएसपी बढुवाको लागि पाँचौं नम्बरमा छन् । प्रहरी उपरीक्षक भएपछि लामो समय युएन मिसनमा काम गरेका सिंहले हालसम्म जिल्ला कमाण्ड गरेका छैनन् । यस्तै छैटौं नम्बरमा श्यामसिंह चौधरी छन् । सातौं आठौं, नवौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं, चौधौं, पन्ध्रौं, सोह्रौं, नम्बरमा छन्, नकुल पोखेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाहीको नाम छ । सिलवाल बारा पथलैया ट्राफिकमा रहँदा विवादमा आएका अधिकृत हुन् ।

अनुसन्धान विभागको अधिकृतमा २०५५ भदौ २२ मा भर्ना भई २०६७ पुस २३ मा डीएसपी हुँदै अगाडि आएका अधिकृतहरु रहेका छन् । बढुवाको तेस्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी २०५५ कात्तिक १ मा असई भर्ना भएर ११४ टोलीअन्तर्गत २०५८ साउन १८ मा इन्स्पेक्टरको प्रतिस्पर्धामा उत्तीर्ण भएका हुन् । डीएसपी बढुवादेखि नै उनी पछि पर्दै आएका छन् । उनी २०६९ फागुन १३ को बढुवाका डीएसपी हुन् ।

नेपाल प्रहरीको ११४ टोलीका अधिकांश अधिकृत एसएसपी भइसकेका छन् । २०८१ माघमा रमेश थापासहितका एसपीले एसएसपी बढुवा पाएका थिए । उक्त बढुवामा अजय केसी, अनुपमसमशेर जबरा, वीरबहादुर बूढा मगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होविन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महत्तो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जयसिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल एसएसपी भएका हुन् ।

त्यसमध्ये थापा काठमाडौं प्रहरी प्रमुख छन् । अधिकारी उपत्यका ट्राफिक, कोइराला लागु औषध नियन्त्रण ब्युरो, बोगटी ललितपुर र पंगेनी मानव बेचबिखन अनुसन्धान ब्युरो तथा श्रेष्ठ सिआइबीमा कार्यरत रहेका छन् । त्यसैगरी अजय केसी साइबर व्यूरोमा पुगेका छन् ।