दिल्ली केन्द्रित नेपाली राजनीति: प्रचण्डदेखि रास्वपाका स्वर्णिमसम्म,के हुँदैछ पर्दा पछाडि ?

काठमाडौं। नेपाली राजनीतिको केन्द्रविन्दु यतिबेला काठमाडौंभन्दा बढी नयाँ दिल्लीमा सरेको आभास हुन थालेको छ। पछिल्ला दिनहरूमा शीर्ष राजनीतिक नेताहरूको एकपछि अर्को दिल्ली भ्रमणले राजनीतिक वृत्तमा तरंग पैदा गरिरहेको छ भने सत्ता समीकरणदेखि भूराजनीतिक सन्तुलनसम्मका विषयमा नयाँ अड्कलबाजी सुरु भएको छ।

यसै सिलसिलामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोटो तर अर्थपूर्ण दिल्ली भ्रमण सकेर स्वदेश फर्किएका छन्। आइतबार दिल्ली पुगेका प्रचण्डले त्यहाँ आयोजित प्रवासी नेपालीहरूको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गरे। औपचारिक रूपमा हेर्दा उनको भ्रमण सामुदायिक कार्यक्रममा केन्द्रित देखिए पनि पर्दा पछाडिको गतिविधिले भने यसलाई निकै अर्थपूर्ण बनाएको छ।

प्रचण्डले आइतबार साँझ भारतका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग गोप्य र महत्त्वपूर्ण भेटवार्ता गरेका थिए। उक्त भेटलाई सामान्य कूटनीतिक शिष्टाचारको रूपमा मात्र लिन नमिल्ने राजनीतिक बृत्तमा चर्चा सुरू भएको छ। सोमबार बिहानसमेत उनले भारतीय सुरक्षा निकायका उच्च अधिकारी र राजनीतिक नेतृत्वसँग भेटघाटलाई निरन्तरता दिएका थिए। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सुरक्षा, चीनसँगको समिकरण, साथै नेपालको आन्तरिक राजनीतिक स्थायित्वका विषयमा गम्भीर छलफल भएको अनुमान गरिएको छ।

प्रचण्डको दिल्ली भ्रमणअघि नै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई पटक गोप्य भेट गरेका थिए। त्यतिमात्र होइन, देउवाकै अनुरोधमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटवार्ता गरेको राजनीतिक वृत्तमा चर्चा छ। यी भेटघाटले आगामी सत्ता समीकरण, सम्भावित गठबन्धन र राष्ट्रिय सहमतिका विषयमा गृहकार्य भइरहेको संकेत गर्न सकिन्छ।

यसैबीच नेपाली कांग्रेसकी प्रभावशाली नेत्री डा.आरजु राणा देउवा सोमबार अपराह्न दिल्ली प्रस्थान गरेकी छन्। उनको भ्रमणको उद्देश्यबारे औपचारिक जानकारी सार्वजनिक नगरिए पनि उपचारको बहाना देखाइएको छ। तर, प्रचण्डको दिल्ली दौडाहासँगै आरजुको आकस्मिक भ्रमणलाई संयोग मात्र मान्न कठिन भएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ। कांग्रेस–एमाले–माओवादी शीर्ष तहमा भइरहेका भेटघाट र दिल्लीमा केन्द्रित गतिविधिले भारतीय पक्षसँग समन्वयमा नयाँ राजनीतिक ‘सेटिङ’ त भइरहेको छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ।

नेपालभित्र सत्ता सन्तुलन अस्थिर बन्दै जाँदा छिमेकी मुलुक भारतको चासो स्वाभाविक रूपमा बढेको देखिन्छ। यही कारणले पनि भारतीय सुरक्षा र राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवादमा नेपाली शीर्ष नेताहरू सक्रिय भएको हुन सक्ने देखिन्छ। यद्यपि, यस्ता गोप्य भेटवार्ताले पारदर्शिता र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठ्ने खतरा पनि उत्तिकै रहेको देखिन्छ।

 प्रचण्डको दिल्ली भ्रमण, अजीत डोभलसँगको गोप्य भेट, देउवा र ओलीसँगका पूर्व–भेटवार्ता तथा डा. आरजु राणा देउवाको आकस्मिक दिल्ली यात्रा—यी सबै घटनाले नेपाली राजनीति नयाँ मोडतर्फ अघि बढिरहेको संकेत गरेका छन्। अबको केही समय नेपाली राजनीतिमा हुने निर्णय र घटनाक्रमले दिल्ली केन्द्रित यो चलखेल कता मोडिन्छ भन्ने कुरा केही दिन भित्र स्पष्ट हुने नै छ।

त्यसैगरी आरजुको भ्रमणपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले पनि दिल्ली जाने तयारीमा रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। यदि यो भ्रमण हुन्छ भने दिल्लीसँगको संवाद परम्परागत ठूला दलहरूमा मात्र सीमित नरही नयाँ वैकल्पिक शक्तिसम्म विस्तार भएको सन्देश दिने पक्का जस्तै देखिएकाे छ। यसले रास्वपाको अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता र आगामी राजनीतिक रणनीतिबारे पनि प्रश्न उठाएको छ।

अर्कोतर्फ, यतिबेला नेपालमा अमेरिका र चीन दुवैका राजदूत पद रिक्त रहनु पनि अर्थपूर्ण मानिएको छ। दुई ठूला शक्ति राष्ट्रका कूटनीतिक प्रतिनिधि नहुँदा क्षेत्रीय शक्ति सन्तुलनमा खाली ठाउँ सिर्जना भएको र त्यही अवस्थालाई उपयोग गर्दै भारतले नेपाली राजनीतिमा आफ्नो प्रभाव थप मजबुत बनाउन खोजिरहेको त होइन भन्ने चर्चा चुलिएको छ।

सरकारको अस्थिरता, दलहरूबीचको अविश्वास, संसद् र सडकको दबाब तथा बाह्य शक्ति सन्तुलनको जटिलताबीच नेपाली राजनीति नयाँ मोडतर्फ उन्मुख छ। यही कारणले दिल्ली अहिले केवल छिमेकी राजधानी नभई नेपाली राजनीतिक निर्णय र रणनीतिक संवादको मुख्य केन्द्र बन्दै गएको देखिन्छ।

समग्रमा, प्रचण्डदेखि आरजु र अब रास्वपाका उपसभापति स्वर्णिमसम्मको सम्भावित दिल्ली यात्रा, अमेरिका–चीनका राजदूतको अनुपस्थिति र बढ्दो भारतीय सक्रियताले नेपाली राजनीतिमा ठूलो फेरबदलको संकेत दिइरहेको छ। अबको सबैभन्दा ठूलो प्रश्न भनेकै—दिल्लीमा के पाक्दैछ, र त्यसको असर नेपाली राजनीतिमा कहिले र कसरी देखिनेछ भन्ने गम्भीर प्रश्न खडा गरेकाे छ। 

नेपाली राजनीतिमा यतिबेला ठूलो उथलपुथल हुने संकेत देखिएको छ। शीर्ष नेताहरूको दिल्ली भ्रमण, गोप्य भेटवार्ता र रणनीतिक छलफलले आगामी दिनहरूमा नेपाली राजनीतिमा के मोड आउला भन्ने प्रश्न उठेकाे छ।

राजनीतिक केन्द्रबिन्दु अस्थायी रूपमा दिल्लीमा सरेको जस्तो देखिएको यो समयमा नेपाली जनताले आफ्ना नेताहरूबाट स्पष्ट जवाफ र जिम्मेवार नेतृत्वको अपेक्षा गरिरहेका छन्।