नक्कली नोट अपरेसनमा प्रहरीको सफलता: काठमाडौंको जुत्ता पसलबाट सुरु भएको अनुसन्धान भारतको मोतीहारीसम्म
काठमाडौं ।केही दिन अगाडि मात्र प्रहरीले ९३ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेपछि नक्कली नोट छाप्ने मुख्य गिरोहसम्म पुग्न सफल भएको छ। काठमाडौं प्रहरी परिसरको विशेष टोली र प्रहरी वृत्त बौद्धको संयुक्त अपरेसनमा पुस १६ गते गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमध्ये पाँचजना सिन्धुपाल्चोक जिल्लाका रहेका छन्। पक्राउ परेकामा बाह्रबिसे नगरपालिका–२ का ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, मेलम्चीका ३२ वर्षीय प्रकाश गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिका–१० की ४२ वर्षीया रेणुका भारती, बलेफी गाउँपालिका–२ का ६५ वर्षीय गोकर्ण थापा र काठमाडौं शंखरापुर नगरपालिका–३ का ४३ वर्षीय सुकबहादुर स्याङ्बो रहेका छन्।
अनुसन्धानलाई अगाडि बढाउँदै जाँदा प्रहरीले नक्कली नोट छाप्ने मुख्य व्यक्ति बारा फेटा गाउँपालिका–३ का रविकुमार श्रीवास्तव र बारा कलैयाका गौरीशंकर यादवसम्म पुगेको छ। श्रीवास्तवलाई भारतको मोतीहारी लालटोलबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीको सहयोगमा मोतीहारीस्थित श्रीवास्तवको कोठामा छापा मार्दा नक्कली पाँचसय दरका ३१७ थान नेपाली नोट, नोट छाप्न प्रयोग गरिएका सादा कागज, कम्प्युटर, प्रिन्टिङ मेसिन, मोबाइल तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ।
प्रहरीका अनुसार श्रीवास्तव र यादवले भारतमै नक्कली नेपाली नोट छापेर तराईका विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पुर्याउने गरेका थिए। नक्कली तीन हजार रुपैयाँ बराबरको नोट एक हजार रुपैयाँ सक्कली नोटसँग साट्ने सर्तमा कारोबार हुने गरेको पनि अनुसन्धानबाट खुलेको छ।
यो गिरोहको भण्डाफोर बौद्धस्थित एक जुत्ता पसलमा नक्कली नोट चलाइएको घटनाबाट सुरु भएको हो। जुत्ता पसल सञ्चालकले शंका लागेपछि प्रहरीलाई जानकारी गराएपछि सीसीटीभी फुटेजको आधारमा नोर्वु शेर्पालाई पक्राउ गरिएको थियो। त्यसपछि गरिएको अनुसन्धानले नक्कली नोटको ठूलो सञ्जाल तोड्न प्रहरी सफल भएको हो।
प्रहरीले यो गिरोहले ठूलो मात्रामा नक्कली नेपाली नोट छापेको हुन सक्ने आशंका गर्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।
