यो व्यवस्था र संविधान फाल्न सजिलो छैन: गृहमन्त्री अर्याल
काठमाडौं। अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था फाल्न सजिलो नभएको बताएका छन्।
बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा नभएको बताए। राष्ट्रको जीवन, लोकतान्त्रिक व्यवस्था र संविधान अन्योन्याश्रित रहेको बताए।
भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि विस्तारै स्थिति सुदृढीकरण भइरहेको बताए। आफू दण्डहीनताको पक्षमा नरहेको बताउँदै गम्भीर खालका विषयवस्तु छन् भने कारबाहीको दायरामा आउने बताए। अन्तरिम सरकारले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि स्थिति सामान्यीकरण हुने बताए।
जेनजीको सम्झौतामा लेखिएको कुरा नै सही रोडम्याप भएकाले बाहिरबाट संविधान फाल्ने कुरा हुन नसक्ने बताए। आफू कुनै सत्ताको मोहले सरकारमा नगएको जिकिर गर्दै आवश्यक परे मर्नुपर्ने पहिलो व्यक्ति हुनका लागि जोखिम लिएर सरकारमा आएको जिकिर गरे।
उनले भने, ‘२३ र २४ गतेको घटनाभन्दा अघिको मनोबलसँग तुलना गरेर त हुँदैन। बंगलादेशको हालत के हुँदै छ? त्यस्तो त हामीले हुन दिएनौँ नि। प्रतिशोध लिएर हिरोजम देखाएको भए परिस्थिति अर्कै हुन्थ्यो। राम्रो काम गर्दा साथ दिनुपर्छ। म नागरिक भएर पेशामै फर्किन्छु। म दण्डहीनताको पक्षमा छैन। व्यवस्था यत्तिकै फाल्ने र राख्ने सजिलो कुरा होइन। राष्ट्रको जीवन र यो लोकतान्त्रिक व्यवस्था, यो संविधान अन्योन्याश्रित छ।’
मन्त्री अर्यालले देश नै कालोसूचीमा रहने गरी कुनै अराजकता हुन नदिने बताए।

