भृकुटीमण्डपमा गगन–विश्वप्रकाशको रापताप,देउवाले पत्र पठाएर वार्तामा बोलाए

काठमाडौं। भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलन बदलिँको स्पष्ट संकेत दिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा उर्लिएको जनलहरले यो महाधिवेशन अब कुनै एक समूहको सीमामा नरहेको सन्देश दिएको छ। देउवा निकट करिब ३० केन्द्रीय सदस्य र डा.शेखर कोइराला समूहका १०१ भन्दा बढी नेता–कार्यकर्ता भृकुटीमण्डपमा देखिनुले कांग्रेसभित्र परिवर्तनको माग बलियो बन्दै गएको बुझाइ पार्टी वृत्तमा हुन थालेको छ।

नेतृत्व र नीतिगत परिवर्तनको संकल्पसहित आह्वान गरिएको विशेष महाधिवेशनको मञ्चमा दोस्रो दिन पनि महामन्त्री गगन थापाको रापताप उतिकै देखियो। सात भाइसहित केही शीर्ष नेताहरूको बहिष्कारका बाबजुद पनि भृकुटीमण्डपमा देखिएको उल्लेख्य उपस्थितिले कांग्रेसको आधार पंक्तिमा असन्तुष्टि गहिरिँदै गएको संकेत गरेको छ। जेन्जी आन्दोलनपछिको परिवर्तित राजनीतिक चेतनालाई आत्मसात् गर्दै महामन्त्रीद्वयले पार्टी रूपान्तरण अपरिहार्य भएको तर्क गर्दै आएका छन्, जसले युवा नेता र कार्यकर्तालाई थप आकर्षित गरेको देखिन्छ।

यही दबाब र बदलिँदो माहोलका बीच कांग्रेस सभापति शेरबहादुर देउवाले आज दोस्रो दिन महामन्त्रीद्वय थापा र शर्मालाई पत्र पठाउँदै वार्ताका लागि बोलाएका छन्। पार्टीभित्र चर्कँदै गएको तनाव र विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनतर्फ अघि बढ्ने संकेत गरेपछि सभापति देउवा संवादको बाटो खोज्न बाध्य देखिएका छन्। यद्यपि, राजनीतिको उत्तरार्धमा रहेका देउवाले आफ्नो अडानबाट सहजै पछि हट्ने संकेत भने देखाएका छैनन्। बरु उनले आफ्ना निकट नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएर आन्तरिक छलफललाई तीव्र बनाएका थिए ।

पार्टी एकता जोगाउने प्रयासस्वरूप सभापति देउवाले नेता डा.शेखर कोइरालालाई पहल गर्न आग्रह गर्दै महामन्त्रीहरूसँग संवाद गर्न भनेका थिए। सोही अनुरूप कोइरालाले महामन्त्रीद्वयसँग भेटघाट र छलफल गरिरहेको बताइएको छ। यसलाई कांग्रेसभित्र सम्भावित सहमति वा सम्झौताका लागि गरिएको अन्तिम प्रयासका रूपमा पनि हेरिएको छ।

उता, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनतर्फ औपचारिक रूपमा कदम चाल्ने संकेत गरेपछि संस्थापन पक्षका नेताहरू परामर्शमा जुटेका छन्। उनीहरू अहिले पनि यो विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने र आगामी निर्वाचनपछि मात्र नियमित महाधिवेशन हुने अडानमा छन्।तर, भृकुटीमण्डपमा देखिएको जनसहभागिता र नेताहरूको बढ्दो उपस्थिति संस्थापनका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

समग्रमा, विशेष महाधिवेशनले कांग्रेसभित्र लामो समयदेखि थाती रहेको नेतृत्व र दिशाबारेको बहसलाई सडक र सभाहलसम्म ल्याइदिएको छ।