रुख दाबी गर्दै गगन-विश्व समूह आज निर्वाचन आयोग जाने
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति नै नेपाली कांग्रेसको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोग जाँदैछ।
नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठकको निर्णयसहित गगन–विश्व समूह अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोग जान लागेको हो।
अधिवक्ता राजु कटवालले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेकाले अभिलेख अद्यावधिक गर्न मध्याह्न १२ देखि १ बजेसम्म आयोग जाने तयारी भएको जानकारी दिए।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरण गर्न उनीसहितको टोलीले सहजीकरण गरिरहेका छन्।
बुधबार सकिएको विशेष महाधिवेशनले गगन थापालाई सभापति घोषणा गरेको थियो। उता संस्थापन पक्षले भने गगन थापा, विश्वप्रकाश शर्मा र फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ । यससँगै नेपाली कांग्रेस दुई भागमा विभाजित भएको छ।
