नेपालको ऐन कानुनले प्रतिभाशाली र दूरदृष्टि भएका मान्छे जन्माएन,जन्माउँदैन: शिक्षामन्त्री पुन
काठमाडौं। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालको ऐन कानुनले प्रतिभाशाली र दूरदृष्टि भएका मान्छे नजन्माउने भन्दै आक्रोश पोखेका छन्।
उनले शिक्षा नियमावली मन्त्रालयकै ऐन,कानुन हेर्ने व्यक्तिहरूले नै नयाँ ऐन कानुन ल्याउन रोकेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
उनले आज सामाजिक सञ्जालबाट नेपालको ऐन कानुनले देशलाई समृद्ध बनाउन सक्ने दूरदृष्टि भएका सक्षम र प्रतिभाशाली युवाहरुको उत्साहलाई सधैं हतोत्साह गरिरहेको पनि बताएका छन्।
उनले देशलाई समृद्ध बनाउन स्वच्छ नेताको दूरदृष्टि अनुसारको ऐन कानुन बनाउने चलन नल्याएसम्म नेपालमा अशान्ति र गरिबी नहट्ने देखिएको बताए।
उनले भनेका छन्, ‘ऐन कानुनले कहिल्यै पनि प्रतिभाशाली र दूरदृष्टि भएका मान्छेहरु जन्माएको छैन र जन्माउँदैन पनि। नेपालको ऐन कानुनले देशलाई समृद्ध बनाउन सक्ने दूरदृष्टि भएका सक्षम र प्रतिभाशाली युवाहरुको उत्साहलाई सधैं हतोत्साह गरिरहेको छ।
मन्त्रालयका कानुन पण्डितहरुले यो कुरा पटक्कै नबुझ्ने रहेछन्। मन्त्री भए पछि यो कुरा झनै प्रष्ट भयो। देशलाई समृद्ध बनाउन एकदमै स्वच्छ नेताको दूरदृष्टि अनुसारको ऐन कानुन बनाउने चलन नल्याएसम्म नेपालमा अशान्ति र गरिबी नहट्ने देखियो।
उनै शिक्षामन्त्री पुनले यसअघि कसैले पनि शिक्षा नियमावली नरोक्न आग्रह नै गरेका थिए।
