आईजीपी कार्कीद्वारा वीरगञ्जको मानवसेवा आश्रममा अनाथ र वृद्धवृद्धालाई खाद्यान्न तथा फलफूल सहयोग
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पर्सा जिल्लाको वीरगञ्जस्थित मानवसेवा आश्रमको भ्रमण गर्दै त्यहाँ आश्रित अनाथ, असहाय तथा वृद्धवृद्धाहरूलाई फलफूल र खाद्यान्न वितरण गरेका छन्। सामाजिक उत्तरदायित्वको भावनासहित गरिएको उक्त कार्यक्रममा आईजीपी कार्कीले आश्रममा बसोबास गर्नेहरूको दैनिक जीवन, स्वास्थ्य अवस्था र आवश्यकताबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए।
भ्रमणका क्रममा उनले आश्रममा आश्रय लिइरहेका वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूसँग संवाद गर्दै उनीहरूको उपचार,खानपान र हेरचाहको अवस्थाबारे चासो व्यक्त गरे। साथै, आश्रमले समाजका उपेक्षित वर्गको संरक्षण र सेवामा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्तो मानवीय सेवामा राज्यका निकाय र समाजको सहकार्य आवश्यक रहेको धारणा राखे।

नेपाल प्रहरी समाजको शान्ति सुरक्षासँगै मानवीय सेवामा पनि प्रतिबद्ध रहेको उल्लेख गर्दै आईजीपी कार्कीले आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिमा प्रहरी संगठनको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे।
आश्रम प्रशासनले समेत प्रहरी महानिरीक्षकको उपस्थितिले आश्रमवासीको मनोबल बढेको र सेवामा थप ऊर्जा मिलेको प्रतिक्रिया दिएको छ।
