निर्वाचन आयोगमा कांग्रेस नेता-कार्यकर्ताको भीड,सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ता निर्वाचन आयोग पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको दाबीसहित कांग्रेस नेता तथा कार्यकर्ताहरु बाक्लो उपस्थित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगमा पुगेसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको जानकारी दिए ।

शुक्रबार बिहानै आयोगमा कांग्रेस देउवा पक्षका नेता कार्यकर्ताहरू पुगेका छन् । केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्तसँग छलफलका लागि उनको कार्यकक्षमा पुगेका छन् भने आयोग परिसरमा तरुण दलका कार्यकर्ताहरू उपस्थित छन्। बुधबार सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस दुई फ्याक भएको छ।