बजारमा बिगबिगी खान अयोग्य सामानको,जनताको स्वास्थ्य र पैसा सकिदाँ सरकारलाई हाइसञ्चो

पानीपुरी सर्वसाधारणको लोकप्रिय खाजा हो । पानीपुरी भुरादेखि बुढासम्मले खान रुचाउँछन् । झन् युवायुवती पानीपुरी भनेपछि हुरुक्कै हुन्छन्। जसले गर्दा पछिल्लो समय पानीपुरी व्यवसाय फस्टाएको छ । पानीपुरी, चटपटे र चाट पसल जताततै देख्न सकिन्छ । कतिपयले ठेलागाडामा त कतिपयले सटर नै लिएर पानीपुरी बेच्न राखेका छन् ।

ठाउँ हेरेर एक प्लेट पानीपुरीको ५० देखि एक सय रुपैयाँ लिइन्छ । चटपटे प्लेटको ६० देखि सय रुपैयाँ छ । त्यसैगरी, खाजाको अर्को रुचाइने परिकार डोनट हो । डोनट पसल पनि छ्याप्छ्याप्ती देखिन्छ । डोनट पसलमा डोनट मात्र बन्दैन, बटारे, निम्की, आलु चिप्स, आलु चपलगायतका परिकार पनि बन्छ ।

एउटा सादा डोनटको १५ रुपैयाँ लिइन्छ । त्यसैगरी, बीचमा काटेर थोरै क्रिम हालेपछि २५ देखि ३० रुपैयाँमा बेचिन्छ । निम्की पाउकै ८० देखि एक सय रुपैयाँ छ । बटारे १५ रुपैयाँमा बिक्री गरिन्छ भने आलु चिप्स पाउको १५० रुपैयाँ छ । घरायसी मदिरा एक मानाको एक सयदेखि तीन सय रुपैयाँमा बिक्री गरिन्छ ।

यी खानेकुरा जनताको पेटमा जान्छ । तर, के यी खानेकुरा स्वास्थ्यका लागि लाभदायक छ ? छैन । माथि उल्लेखित खानेकुराहरु केमिकल र स्वास्थ्यलाई हानिकारक हुने सामग्रीको प्रयोग गरेर बनाइन्छ । पानीपुरी मैदाले बन्छ । एउटै तेलमा सयौं पटक पानीपुरी फुराइन्छ । यता, पानीपुरीमा कुहिएको आलुको प्रयोग हुन्छ ।

हड्डी खियाउने अजिनामोटोको पानीपुरीमा अधिक प्रयोग हुन्छ । पानीपुरीमा प्रयोग हुने पानीबारे उपभोक्ता र सरकार दुवै बेखबर छ । त्यो पानी सफा छ कि फोहोर ? सरकारलाई थाहा छैन । चटपटेमा फुड कलरको प्रयोग हुन्छ । मसलाको नाममा के–के हालिन्छ ? कसैलाई जानकारी छैन ।

भाडाकुँडा पनि सफा हुँदैन । हातमा पञ्जा नलगाईकन पानीपुरी र चटपटे बनाइन्छ । रोचक प्रसंग के भने, चटपटे र पानीपुरी खाने अधिक शिक्षित वर्ग छन् । बिहान खानाको सट्टा पनि पानीपुरी र चटपटे खानेहरु छन् । उनीहरुले मँहगो पैसा तिरेर आफ्नै स्वास्थ्य बिगार्ने काम गरिरहेका छन् ।

पछिल्लो समय डोनट पसल पनि घरैपिच्छेजस्तो देखिन्छ । एउटा सटर लिएर डोनट बनाइन्छ । तर, के त्यो डोनट पकाएको तेल स्वास्थ्यका लागि ठीक छ ? कसले अनुगमन गर्ने । डोनट बनाउनलाई मैदाको पिठो प्रयोग गरिन्छ । डोनट पसलेले पिठो पसलमा मुछ्दैनन्, अन्तैबाट किनेर ल्याउँछन् ।

त्यो पिठो फोहोर पानीले मुछेको हो कि ? कसलाई के थाहा । डोनटमा केमिकल प्रयोग गरिन्छ । अर्कोतिर, एउटै तेलमा पटकपटक डोनट बनाइन्छ । जबकि, एउटै तेलको बारम्बार प्रयोग गर्न हुँदैन । त्यसले मान्छेको महत्वपूर्ण भित्री अंग बिगार्न सक्छ । डोनट पसलले एउटै तेलमा डोनट मात्र बनाउँदैनन्, अन्य सामग्री पनि त्यहीँ तेलमा फ्राई गर्छन् ।

चिप्स, बटारे, निम्की डोनट पकाइएकै तेलमा बन्छ । डोनट खाने अधिकांश बालबालिका जमात हुन् । उनीहरुको स्वास्थ्यमा यी परिकारले कति खराबी पुर्याइरहेको होला ? जन्मदिनमा पछिल्लो समय केक काट्ने प्रचलन आएको छ । बर्थ–डे भन्नेबित्तिकै केक । तर, केक कहाँ र कसरी बन्छ ? कसैलाई जानकारी छैन ।

पसलबाट किनेर ल्यायो, काट्यो । त्यो केक कहिले बनेको हो भन्नेपनि जानकारी हुँदैन । कतिपयले कुहिएको अण्डा हालेर केक बनाउने गरिएकोसमेत बताउँछन् । केक व्यवसाय अहिलेको एउटा प्रमुख व्यवसाय बनेको छ । तर, सरोकारवाला निकायले किन अनुगमन गर्दैन ?

पप, पाउरोटी, बम, क्रिम रोल पनि खाजाकै परिकार हो । त्यो कसरी बन्छ ? कसैलाई थाहा छैन । पाउरोटी केही दिन राख्नेबित्तिकै पुरै हरियो भएर आउँछ । पाउरोटीमा केमिकल हालिन्छ भन्नेमा कुनै शंका छैन । यद्यपि, अनुगमन गर्ने कसले ? मिठाई पसल पनि जनताको स्वास्थ्य बिगार्ने थलो बनेको छ ।

पहिलो कुरा त मिठाई पसलले न्यूनतम मापदण्डसमेत पालना गरेको छैन । मिठाई पसल एकदमै फोहोर र दुर्गन्धित छन् । एउटा फोहोर गन्जी लगाएर मिठाई पसलेले मिठाई बनाउने गरेका छन् । मिठाई बनाउन प्रयोग गरिएको सामान कस्तो छ ? न उपभोक्तालाई थाहा छ न सरकारलाई ।

मिठाई बनाउन कलर प्रयोग गरिन्छ । त्यो कस्तो कलर हो ? स्वास्थ्यलाई हानिकारक छ कि छैन ? सरोकारवाला निकायले अनुगमन गर्नुपर्छ कि पर्दैन ? मासु पसलले पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । मरेका कुखुरा, बाख्रा, खसी, भैंसी, राँगासमेत बेचिरहेको अवस्था छ ।

मासुलाई फुलाउन सुईँको समेत प्रयोग गर्ने गरिएको छ । उपभोक्ता मँहगो पैसा तिरेर मरेको पशुको मासु खान बाध्य छन् । माछाको हकमा पनि त्यस्तै छ । माछा पसलले केमिकल हालेर माछालाई महिनौं दिनसम्म नकुहिने बनाउँछन् । त्यो मान्छे सर्वसाधारणको पेटमा गइरहेको छ ।

त्यस्तो माछाले क्यान्सर हुने चिकित्सकहरु बताउँछन् । सर्वसाधारणलाई दुध, दही नभईकन हुँदैन । हड्डी मजबुत बनाउन दुध आवश्यक पर्छ । तर, पछिल्लो समय दुध हड्डी खियाउने खालको छ । दुधमा अधिक मात्रामा पाउडर मिसाइन्छ । दुध प्रायः बालबालिका र बुढाले खाने सामग्री हो।

त्यसमा समेत मिसावट छ । फलफूलहरुमा विषादीको प्रयोग हुन्छ । छिटोछिटो ठूलो पार्नका लागि केमिकल हालिन्छ । फलफूल पनि खान नहुने भएको छ । हिजोको चिचिँला केमिकल हाल्नेबित्तिकै बेच्नलायकको हुन्छ । त्यो केमिकल के हो ? कसैलाई थाहा छैन । मःम नेपालमा सबैभन्दा बढी खाइने खाजा हो ।

तर, त्यसभित्र प्रयोग भएको मासु कस्तो छ ? मःम कसरी बनेको छ ? मःम बनाउने ठाउँ फोहोर छ कि सफा ? खानेहरु अञ्जान छन् । कोक, फ्यान्टा, स्प्राइट, फ्रुटीलगायतका पेयपदार्थले पनि सर्वसाधारणको स्वास्थ्यमा हानिनोक्सानी पुर्याइएको छ । बोतल र जारको पानी खानु पनि स्वास्थ्यलाई खतरा भइसकेको छ ।

केमिकल मिसाएका हुन्छन् । छ्याङ, तुम्बामा केमिकल मिसाइन्छ । घरेलु रक्सीमा पुराना लुगा, हड्डी, युरिया मललगायतका सामग्री मिसाउने गरिन्छ । यसले सिँधै फोक्सो, कलेजो र मिर्गौला ड्यामेज गर्छ । सर्वसाधारण पैसा पनि सकियो, ज्यान पनि । बजारमा केमिकल नभएको खाद्यान्न पाउन छोडिसक्यो ।

आफ्नो फाइदाका लागि उत्पादनकर्ताहरुले केमिकल मिसाएका छन् । उनीहरुले त कमाउलान् तर जनता त रोगी भए । उपभोक्ताको हकहित संरक्षणका लागि आपूर्ति, वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग छ । बजार अनुगमनकै निम्ति भनेर त्यहाँ ठूलो संख्यामा कर्मचारी छन् ।

तर, उनीहरु ‘दिन कटाउने र माना पचाउने’ काम मात्र गरिरहेका छन् । विभागका कर्मचारी कहिल्यै अनुगमनमा निस्किएको देखिँदैन । चाडपर्व आउँदा कमाउनका लागि यसो बजार अनुगमन गरेकोजस्तो गर्छन् । त्यसपछि फेरि ठापठुप हुन्छ । यता, स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र भएको उद्योग, पसलमा अनुगमन गरेको पाइँदैन ।

जस्तो सामान बेचेपनि सरकारलाई हाइसञ्चो छ । चट्पटेदेखि डोनट, भट्टी पसललगायत कुनैपनि पसलको दर्ता छैन । दर्ताबेगर खान अयोग्य सामान बेच्ने काम भइरहेको छ । सरकारलाई त जनताको मतलब छैन । तर, अभिभावक गम्भीर होऔं । आफ्ना सन्तानको ज्यान सकाउने खानेकुरा खान नदिऔं ।

जसले उत्पादन गर्छ, उसले आफ्ना सन्तानलाई यस्तो खानेकुरा खान दिँदैनन् । यसको उदाहरण केही समयअघि एक प्रतिष्ठित उद्योग व्यवसायीको छोरा नै हुन् ।