रास्वपालाई पनि चुचुरोमा बसिरहन सम्भव छैन: राजेन्द्र लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले गणित गुमाए पनि राजनीति भने नहारेको बताएका छन्।
पार्टी केन्द्रीय सचिवालयले गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम अन्तर्गत तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले तुलनात्मक रूपमा केही सिट गुमाए पनि आफ्नो एजेण्डाको आवश्यकता देशले महशुस गरिरहेको बताए।
‘हालैको निर्वाचनमा रास्वपाको क्रमिक सुधार भन्दा पनि चमत्कारिक परिणाम आयो, अर्कोपटक यो भन्दा राम्रो पोजिसन दिनुपर्छ भन्ने ठाउँ नै नराखी परिणाम दियो, सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ बसिरहन पनि सम्भव छैन, त्यहाँभन्दा माथि जाने ठाउँ पनि छैन, झर्नैपर्छ,’ लिङ्देनले भने।
उनले जनताको भरोसा राप्रपामा नै भएकाले भरोसाको खम्बा बन्नुपर्ने बताएका छन् । लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरूको पार्टी भएको स्पष्ट पारे।
राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी हो, राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, सङ्गठन र विचारभन्दा माथि रहेको बताए। राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको बताए ।
फागुन २१ गते भएको निर्वाचनअघि आएको पूर्वराजाको सम्बोधनलाई लिएर कतिपय राजसंस्थावादीले राप्रपा निर्वाचनमा जानु गल्ती भएको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष लिङ्देनले भने ‘राप्रपा निर्वाचनमा नगएको भए के हुन्थ्यो?
राप्रपा निर्वाचनमा नगएको भए आजको राजनीतिक परिदृश्य र संसदीय मञ्चबाट राप्रपा र राजसंस्थाको पक्षपाती शक्तिको हालत के हुन्थ्यो? आफूलाई राजसंस्थावादी भन्नेहरुले राप्रपा भन्ने अस्तित्वमै नरहोस् भन्ने चाहेका हुन् ? संसद्मा राजसंस्थाको एजेण्डा राप्रपाकै कारणले घन्किरहेको छैन?
गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भनेर टिप्पणी गर्नेहरुप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारका पदहरुमा नजाँदैमा पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी कमजोर नभएर ठूलो हुनुपर्ने नि त भन्ने तर्क गरे।
पार्टीमा चलिरहेको विवादका बारेमा मुख खोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफूलाई कमजोर सोचेर पार्टीका नेताकार्यकर्ताले अनुशासन विपरीत मनपरी कार्य गरेको भन्दै हाल अनुशासनको कारबाही चलाउन आरम्भ गरेको प्रष्ट पारे।
चुनाव अघिसम्म आफ्नै अघि भएको कार्यक्रममा हातपातमा उत्रने साथीहरूलाई समेत माफी दिए पनि अब त्यस्ता प्रवृत्तिसँग सम्झौता नगर्ने लिङ्देनको भनाइ छ।
उनले आफू हदैसम्म लचिलो भएको तर त्यसलाई नेतृत्वको कमजोरी सम्झेर पार्टी सदस्यको सीमा मर्यादा उल्लङ्घन गरी अनुशासन विपरीत कार्य गर्ने कसैलाई पनि अब नछोडिने पनि स्पष्ट पारे।
पार्टीमा एकपक्षले महाधिवेशनको रटान लगाएको भन्दै उनले जिल्ला अधिवेशन सम्पन्न हुने बित्तिकै महाधिवेशन गरिने बताए। महाधिवेशनको मिति आफूले तय गर्ने नभएर आसन्न केन्द्रीय समितिले गर्ने लिङ्देनको भनाइ छ।
राप्रपाले हालै सम्पन्न निर्वाचनको प्रदेश तहमा पुगेर समीक्षा गरिरहेको छ। सातवटै प्रदेशमा समीक्षा गर्ने क्रममा मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशमा समीक्षा बैठक सम्पन्न भएको, वैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवामा, वैशाख १५ गते बागमती प्रदेशको हेटौँडामा र वैशाख १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा समीक्षा बैठक तय गरेको छ। कर्णाली प्रदेशको भने मिति तय हुन बाँकी छ।
