‘वास्तविक सुकुम्वासीको न्यायका लागि प्रहरी सदैव प्रतिबद्ध छ’: प्रहरी महानिरीक्षक कार्की
काठमाडौं। नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती व्यवस्थापन गर्ने क्रममा वास्तविक पीडितको हक र न्याय सुनिश्चित गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनमा सुरु भएको बस्ती हटाउने अभियान अन्तर्गत आइतबार मध्याह्नसम्म २१९ परिवारलाई रङ्गशालामा स्थानान्तरण गरिएको छ।
प्रहरीले थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा खोला किनारका अव्यवस्थित बस्ती व्यवस्थापनमा मानवीय संवेदनशीलतालाई केन्द्रमा राखेर कार्य गरिरहेको जानकारी दिएको छ।
सो व्यवस्थापन कार्यको प्रभावकारिता बुझ्न प्रहरी महानिरीक्षक दान बहादुर कार्की र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले स्थलगत अवलोकन समेत गरेका थिए।
बस्ती व्यवस्थापनका क्रममा वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूलाई सुरक्षित बसोबास र सम्मानजनक जीवनयापनको प्रत्याभूति गराउनु मुख्य प्राथमिकता रहेको प्रहरीले बताएको छ।
केही व्यक्तिहरूले सुकुम्वासीको नाममा अनुचित लाभ लिने र वास्तविक पीडितलाई राज्यको सुविधाबाट वञ्चित गराउने प्रयास गरिरहेको भन्दै प्रहरीले त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन निगरानी बढाएको छ।
सम्भावित अवरोध र प्रतिवादलाई ध्यानमा राख्दै उच्च सतर्कताका साथ प्रहरी परिचालन गरिएको छ। स्थानान्तरण प्रक्रियालाई सुरक्षित बनाउन सूचना संकलन र विश्लेषणलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले वास्तविक पीडितको भविष्य सुनिश्चित गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए।
उनले भने, ‘वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित गर्ने कार्यमा नेपाल प्रहरी सदैव प्रतिवद्ध रहँदै आएको छ। वास्तविक सुकुम्वासीरभूमिहीनहरू एक जुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सहि सूचना दिई आपसी सहयोग गरिदिनुहुन समेत नेपाल प्रहरी अनुरोध गर्दछ।
