सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा
सुदूरपश्चिम। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन्।
१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन्।
कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर निर्वाचन क्षेत्र-२ मा नारायणप्रकाश साउदलाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ। उनी यसअघि सङ्घीय सरकारमा पटकपटक मन्त्री भइसकेका छन्। साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उम्मेदवारलाई अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिए।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र-१ बाट पूर्वउपप्रधानमन्त्री समेत रहेका भीम बहादुर रावल चुनावी मैदानमा छन्। सो पार्टीबाटै कैलाली क्षेत्र-५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र-१ मा बीना मगर चुनावी दौडमा छन्। आले र मगर सङ्घीय सरकारका पूर्वमन्त्री हुन्।
नेकपाले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री भइसकेका त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। प्रदेश सरकारकै पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। नेकपाबाटै कञ्चनपुर निर्वाचन क्षेत्र-३ बाट उम्मेदवार बनेका मानबहादुर सुनार प्रवेश राज्यमन्त्री भइसकेका छन्।
नेकपा ९एमाले० बाट पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छन्। दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका एमाले नेता गणेशसिंह ठगुन्ना, बैतडीबाट उम्मेदवार बनेका दामोदर भण्डारी सङ्घीय सरकारका पूर्वमन्त्री हुन्।
कैलाली निर्वाचन क्षेत्र-४ मा पूर्वमन्त्री उपमहासचिव लेखराज भट्ट र कैलाली–३ का गौरीशङ्कर चौधरी पूर्वसङ्घीय मन्त्री समेत रहेका चुनावी दौडमा रहेको सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए।
एमालेबाटै अछाम क्षेत्र-१ मा उम्मेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुन्। सचिव चन्दले डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उम्मेदवारका रूपमा मैदानमा उतारिएको जानकारी दिए। उनले भने,एमाले सबैतिर चुनावी सभारभेलाहरू व्यवस्थित गर्दै जाने तयारीमा छ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ।
कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

