निर्वाचनमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ।

विशेष महाधिवेशनमा सहभागी भएका सबैलाई जित-हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भन्दै कांग्रेसले परिपत्र गरेको हो।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वाससमेत व्यक्त गरिएको छ ।

‘विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमितिकोसमेत चयन भई पार्टी नयाँ जोश, जाँगर र हौसलाका साथ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ होमिसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ,परिपत्रमा भनिएको छ,निर्वाचनमा सहभागी हुनु भएका, नहुनु भएका, सहमत हुनु भएका, नहुनु भएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश/विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई यो अवगत गराउन चाहन्छौँ कि, यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन।

कुनै अलमल नगरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ। विश्वास र भरोसा राखौँ, अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अघि बढ्नु पर्ने बेला आएको छ।