हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक सञ्चालन

जुम्ला। हिमपातका कारण अवरुद्ध भएको नाग्म-गमगढी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरेर हिउँ पन्छाएसँगै सडक सञ्चालनमा आएको हो।

बाक्लो हिमपात भएर सडकमा हिउँ जमेपछि सवारीसाधन चल्न नसक्ने अवस्था भएको थियो । सडक अवरुद्ध भएलगत्तै सडक डिभिजनले हिउँ पन्छाउने उपकरण र जनशक्ति परिचालन गरी बाटो खुलाउने काम गरेको थियो।

माघ ११ गतेदेखि नै सडक आंशिक रूपमा सञ्चालनमा आएको थियो भने सडकमा जमेको बाँकी हिउँ समेत पूर्ण रूपमा हटाएपछि यातायातका साधनहरू पूर्ण रूपमा चल्न थालेका छन्।

सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र मालवाहक सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेको सडक डिभिजन जुम्लाले जनाएको हो।

साथै सडक डिभिजन जुम्लाले सडक खुले पनि चिसो र हिउँका कारण सडक चिप्लो हुने भएकोले आवश्यक सावधानी अपनाउन अनुरोध समेत गरेको छ । जुम्लामा यही माघ १० गते राति हिमपात भएको थियो । त्यसयता सडक अवरुद्ध भएको थियो।