निर्वाचनमा साढे पाँच लाख जनशक्ति खटिने,कर्मचारीलाई भत्तादेखि बिमासम्म

काठमाडौं। पछिल्लो समय देश चुनावमय बन्दै गएको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन मैदानमा उत्रिने उम्मेदवारहरू यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् भने सरकार चुनावी तयारी गरिरहेको छ।

धमाधम मतपत्र छपाइको काम भइरहेको छ। यो निर्वाचन एकै चरणमा हुँदै छ। निर्वाचन आयोग मातहतका कार्यालय र १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्। देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको गरिएको छ।

उक्त निर्वाचन व्यवस्थापनको लागि सुरक्षाकर्मी र कर्मचारीहरू खटिनेछन्। पुस २८ आयोजित अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा शान्ति सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिने बताइसकेका छन्।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आयोग,संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका निजामति कर्मचारी लगायत गरेर कुल २ लाख १३ हजार १६१ जनशक्ति परिचालन हुँदै छन्। आवश्कतानुसार खटाएर त्यसबाट पनि अपुग भएमा शिक्षकसमेतलाई निर्वाचनमा खटाउने आयोगको तयारी छ।

निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी गरि ३ लाख ३७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ।

कर्मचारीलाई भत्तादेखि बिमासम्म

उक्त निर्वाचनमा खटिने कर्मचारीहरूका लागि विभिन्न सुविधा छन्। आयोगका अनुसार निर्वाचनमा खटिने सबै कर्मचारीहरूलाई भत्तादेखि बीमासम्मका सुविधा उपलब्ध गराइन्छ।

मतदान अधिकृतलाई दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई दुई हजार, सहायक कर्मचारीलाई एक हजार ६ सय तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही एक हजार दुई सय रुपैयाँ दैनिक भत्ताको व्यवस्था छ।

उनीहरूको लागि बिमाको व्यवस्था पनि रहेको आयोगले जनाएको छ। आयोगका अनुसार २० लाखको कर्मचारी दुर्घटना बीमा रकम छ। यसको अवधि १५ देखि ९० दिनसम्म रहने छ।

इमान्दारीसाथ जिम्मेवारी निर्वाह गर्नेछौँ:शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले सरकारले शिक्षकहरूलाई निर्वाचनमा खटाएमा दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,अहिलेसम्म कति शिक्षकहरू निर्वाचनमा खट्ने भन्ने केही जानकारी छैन, सरकारले शिक्षकहरूलाई निर्वाचनसम्बन्धी जिम्मेवारी दिए इमान्दारीपूर्वक निर्वाह गर्ने छौँ,लागू भएको निर्वाचन आचारसंहिता पालना गर्न पनि हामी प्रतिबद्ध छौँ। उनका अनुसार जनशक्ति नपुग भएमा सरकारले शिक्षकहरूलाई पनि खटाउने छ।