बचतकर्ता र ऋणीको गोप्य विवरणबाट मालामाल बन्दै बैंक,वित्तिय संस्थाका कर्मचारी
रुषा थापा
बैंक तथा वित्तिय संस्थामा कसको कति निक्षेप छ ? कसले कति कर्जा लिएका छन् ? सम्बन्धित बचतकर्ता, ऋणी र बैंकका कर्मचारीलाई मात्र थाहा हुन्छ । यस्तो तथ्यांक नेपाल राष्ट्र बैंकसँग पनि हुँदैन । अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलगायतलाई पनि यसबारे अत्तोपत्तो हुन्न ।
बचतकर्ता र ऋणी दुवैको गोपनीयता कायम राख्नु बैंकको कर्तव्य हो । कानूनअनुसार बैंकले सम्बन्धित बचतकर्ताको निक्षेप वा ऋणीको कर्जा अवस्थाबारे उनीहरुको परिवारबाहेक अरु कसैलाई जानकारी दिन मिल्दैन । परिवारलाई पनि तबमात्र जानकारी दिन मिल्छ, तब सम्बन्धित बचतकर्ता वा ऋणीले त्यसको लागि स्वीकृति दिन्छ ।
यसरी बचतकर्ता वा ऋणीका परिवारदेखि सरोकारवाला वा नियामक निकायसम्म कुन बैंक, वित्तिय संस्थामा कुन बचतकर्ताको कति निक्षेप छ? कसले कति ऋण लिएको छ ? भनेर अन्जान रहँदा बैंक, वित्तिय संस्थाका कर्मचारीलाई आफ्नो बैंकका बचतकर्ता र ऋणीबारे सम्पूर्ण जानकारी हुन्छ । अहिले यसैको लाभ उनीहरुले उठाउन थालेका छन् ।
आर्थिक मन्दीका कारण केही वर्षयता ऋणीले कर्जा चुक्ता गर्न सकिरहेका छैनन् । बैंकको चर्को ब्याजका कारण पनि उनीहरुले ऋण तिर्न नसकेका हुन् । कर्जा नतिरेपछि बैंकले धितो लिलाम गर्छ तर अहिले त्यो धितो पनि बिक्री भइसकेको अवस्था छैन । यसैले बैंक, वित्तिय संस्थाका कर्मचारीहरुले नयाँ जुक्ति निकालेका छन् । उनीहरुले लिलाम गरिएको धितो आफ्नै बचतकर्तालाई महँगोमा भिडाइरहेका छन् ।
अझ त्यसबापत कमिशन पनि खान्छन् । धितो लिलामपछि आफ्नो बैंक, वित्तिय संस्थामा धेरै निक्षेप भएका बचतकर्ताको उनीहरु खोजी गर्छन् । र, फोन गरेर कार्यालयमा बोलाउँछन् । त्यसपछि तातो, चिसो खुवाएर एक करोडको धितो तीन करोडमा भिडाउँछन् । त्यसमा पनि बैंकका कर्मचारीहरु पन्ध्र प्रतिशतसम्म कमिशन खान्छन् । ऋणीलाई त लुट्छन् नै सँगै बचतकर्तालाई पनि ठगिरहेका छन् ।
कर्जा दिँदा सस्तो ब्याज भन्छन् । तर, तीन करोडको धितो राखेर एक करोड मात्र कर्जा दिइन्छ । त्यसमा पनि दश लाख त घुसै । एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत, १२ देखि १८ प्रतिशत ब्याज भनेर ४८ देखि ८० प्रतिशतसम्म असुल्छन् र ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै तीन करोडको धितो ९० लाखमै पचाइदिन्छन् ।
९० लाखमा लिलाम गरिएको धितो आफ्नै बचतकर्तालाई तीनदेखि पाँच करोडसम्ममा बेचिन्छ । बचतकर्तासँग तीन करोडमात्र निक्षेप भएमा कर्मचारीहरुले नै दुई करोड कर्जा मिलाइदिन्छन् । सस्तो ब्याजको प्रलोभन देखाएर बचतकर्ताले ऋण लिन्छन् । अनि चर्को ब्याज असुलेपछि ऋण तिर्न नसक्दा उसले निक्षेपसँगै धितो नै गुमाउँछ । जुन पछिल्लो समय बढ्दो क्रममा छ ।
बैंक, वित्तिय संस्थाका कर्मचारीहरुले कामै नगरी यसरी कमाइरहेका छन् । जनता ठगेर उनीहरु मालामाल बनिरहेका छन् । विडम्बना, नियामक निकाय अनुगमन गर्छन् न कारबाही । बैंक, वित्तिय संस्थाले केसम्म गर्दैनन् ? बाध्य गरिसाध्य छैन । एउटा ऋणीसँग मिलेर बैंकका कर्मचारीले अर्को ऋणीलाई डुबाइरहेका छन् । उदाहरणका लागि ऋणीले तीन किस्ता नतिरेपछि बैंक, वित्तिय संस्थाले धितो (घरजग्गा, गाडी र सेयर) लिलाम गर्छन् ।
त्यो धितो बैंकले नयाँ व्यक्तिलाई ऋणसहित भिडाउँछन् । जसमा नयाँ व्यक्तिले लाखदेखि करोडसम्म लगानी गर्छ । त्यतिबेलासम्म पुरानो ऋणीले चुक्ता गर्नुपर्ने रकम जुटाउँछ । अनि बैंकका कर्मचारीलाई घुस खुवाएर जालझेल गराई त्यो धितो लिलाम गर्न लगाउँछ । नयाँ ऋणीले किस्ता तिर्दातिर्दै त्यो रकम बचत खातामा जम्मा गर्न लगाई वा ह्वात्तै ब्याज बढाएर किस्ता नतिर्न नसक्ने अवस्थामा पुर्याइन्छ ।
किस्ता नतिर्नेबित्तिकै बैंकले धितो लिलामी सूचना निकाल्छ । तर, ऋणीलाई त्यसबारे जानकारी नै गराइँदैन । सूचनाको म्याद सकिन एक–दुई दिनमात्र बाँकी रहँदा जानकारी गराइन्छ । त्यति छोटो समयमा ऋणीले कर्जा चुक्ता गर्न सक्दैन । अनि धितो लिलाम गरिन्छ । त्यो धितो पुरानै ऋणीले आफ्नो कर्जा चुक्ता गरेर लैजान्छ । नयाँ ऋण त हेरेको हेर्यो ।
पाँच–६ महिनामै उसले लाखदेखि करोडौं रकम गुमाउँछ । यसरी बैंकको रणनीति बुझ्न नसक्दा धेरै सर्वसाधारण डुबेका छन् । बैंक, वित्तिय संस्थाहरु आफूलाई देश र जनताको सेवक भन्छन् । तर, उनीहरुको काम हेर्दा सेवक, शोषक, सामान्तीको आभास हुन्छ । उनीहरु जनता ठग्न खुलेका संस्था हुन् । जतातिर कमाइन्छ, उतैतिर उनीहरु लाग्छन् । चाँहे त्यो राम्रो काम होस् या नराम्रो ।
बैंक, वित्तिय संस्थाले त जनतालाई ठगिरहेकै छन्, सँगै कर्जा मिलाइदिने नाममा ठग्ने व्यक्ति तथा संस्थाको पनि बिगबिगी हुन थालेको छ । बैंक, वित्तिय संस्थाबाट सस्तो ब्याजमा कर्जा मिलाइदिन्छु भन्दै धितो घरजग्गाको हकमा लालपूर्जा, प्रमाणपत्र, गाडी भए ब्लुबुक र सेयर भएमा प्रमाणपत्र लिइन्छ। सम्बन्धित व्यक्तिलाई खाली कागजमा हस्ताक्षर र ल्याप्चे लाउन लगाइन्।
विश्वासमा परेर ऋण पाउन दलालले जे जे भन्यो, त्यही गर्छन् । तर, सबै कागजात लगेपछि ऋण होइन्, उल्टै धितो नै पचाइदिइन्छ । यसरी धितो लगेको २४ घण्टाभित्र सम्बन्धित व्यक्तिले परिवारले हकदाबी नगरेमा त्यो धितो दलालकै नाममा कायम रहन्छ । यसरी ऋणको नाममा धितो नै गुमाउने बढ्दो क्रममा छन् ।
दलालहरुको बिगबिगी छ । बजारमा जताजतै दलाल भेटिन्छन् । उनीहरुले आफ्नो स्वार्थका लागि सोझासाझा जनतालाई घरबारविहीन बनाइरहेका छन् । हुन त दलाल उत्पादन गर्ने पनि बैंक, वित्तिय संस्था नै हुन् । उनीहरुले दलालमार्फत ऋणी खोज्छन् । दलालीले पनि कमिशन पाउने भएपछि ऋणी खोजेर बैंक कहाँ पुर्याउँछन् । ऋणीले जतिधेरै कर्जा लियो, उति नै धेरै कमिशन दलालीले पाउँछ ।
यसैले, ऋणीलाई सस्तो ब्याजको प्रलोभन देखाएर महँगो धितो राख्न लगाई धेरै कर्जा लिन लगाउँछन् । अनि कर्जा लिएको केही दिनमै बैंकले ब्याज बढाइदिन्छ । चर्को ब्याजका कारण ऋण तिर्न नसकेपछि उसले आफ्नो धितो नै गुमाउनुपर्छ । यसरी बैंक र दलालको मिलेमतोमा जनता डुबाउने काम भइरहेको छ ।
भूमि अभिलेख तथा व्यवस्थापन विभाग घरजग्गा कारोबार बढिरहेको दाबी गर्छ । तर, बजारमा कसरी घरजग्गा कारोबार भइरहेको छ ? राज्यलाई थाहा छैन । बैंक, वित्तिय संस्था र मीटरब्याजीहरुले सोझासाझा जनताको घरजग्गा यसरी पचाउँदा घरजग्गा कारोबार बढेको भन्न मिल्छ ? जनता सुकुम्बासी हुने, राज्य चाँहि कारोबार बढ्यो भन्दै मख्ख पर्ने । राज्य जनताको अभिभावक हो । दुर्भाग्य, हाम्रो सरकारलाई त आफ्नै नागरिकको अवस्थाबारे थाहा छैन ।
