‘जेनजीको नाममा देश खरानी बनाउनेहरुलाई मतदान गर्नुअघि सोचौं’

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन आह्वान गरे । त्यसको अघिल्लो दिन काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साह (बालेन) र नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेले आन्दोलनमा समर्थन जनाए। बालेनले त २८ वर्ष मुनिका सबैलाई आन्दोलनमा सहभागी हुन अपिल नै गरेका थिए ।

भदौ २३ गते बिहानैदेखि माइतीघर मण्डलामा विद्यार्थीहरु भेला हुन थाले । स्कुल वा कलेज ड्रेमै झोला बोकेर धेरैजसो विद्यार्थी आएका थिए । त्यो दिन नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक चलिरहेको छ । आन्दोलनकारीहरु माइतीघर हुँदै नयाँ बानेश्वरतर्फ लागे । र, संसद् भवन प्रवेश गर्न खोजे । उनीहरुलाई रोक्न प्रहरीले सक्दो प्रयास गर्यो ।

शुरुमा सम्झाईबुझाई वा माइकिङ गरियो । तर, उनीहरु रोकिएनन् । त्यसपछि अश्रुग्याँसदेखि लाठीसम्म प्रहार गरियो । तैपनि, आन्दोलनकारीहरु मानेनन् । उल्टै उनीहरुले संसद् भवन नै तोडफोड गर्न थाले । त्यसपछि प्रहरीले गोली चलाएको हो । कानूनमा स्पष्ट भनिएको छ, ‘भीड नियन्त्रणबाहिर गएमा वा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड भएमा प्रहरीले स्वविवेक प्रयोग गरी घुँडामुनि गोली चलाउन पाउँछ ।

यही अधिकारको प्रयोग गरेर प्रहरीले गोली चलायो । दुर्भाग्य, अत्यधिक भीडका कारण प्रहरीले चलाएका गोली घुँडामुनिभन्दा अन्य ठाउँमा लाग्न पुग्यो । त्यसक्रममा १९ जनाले ज्यान गुमाए । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार थियो । गृहमन्त्री रमेश लेखक थिए । उनले सोही दिन राति राजीनामा दिए ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसमेत सडकमा आइन् । उनले कांग्रेस र एमालेलाई सरकारमा बस्ने कुनै अधिकार नभएको भन्दै लखेट्नुपर्ने बताइन् । उता, काठमाडौंका तत्कालिन मेयर बालेनले १९ जनाको हत्यारा प्रधानमन्त्री ओलीलाई ठहर गर्दै आन्दोलनका निम्ति झनै उकासे भने रविले आफ्ना सबै सांसदलाई राजीनामा दिन निर्देशन दिए ।

२४ गते बिहानैदेखि आन्दोलनकारीहरु उग्र भए । किनकि उनीहरु बालेन र रविका समर्थक थिए । उनीहरुको एउटै माग थियो, तत्कालिन प्रधानमन्त्री ओलीको राजीनामा । नेपाली सेनाले ओलीलाई सहयोग गरेन । अनि बाध्य भएर ओलीले दिउँसो १२ बजे प्रधानमन्त्री पदबाट राजीनामा दिए । योसँगै आन्दोलनकारीहरुको माग पूरा भयो ।

तर, उनीहरु झनै उग्र भए । एकाएक सार्वजनिक र निजी सम्पत्तिमा आगो सल्काउन थालियो । यसैको फाइदा उठाएर रास्वपा नेता तथा समर्थकले नख्खु जेलमा रहेका रविलाई निकाले । तैपनि जेलरलाई कुटेर । उनी निस्किएसँगै सर्वोच्च अदालतसहित देशभरका न्यायालय छानीछानी जलाइयो । बालेनका समर्थकले चाँहि मुलुकको इतिहास सिंहदरबार जलाए । हजारौं सरकारी तथा सार्वजनिक भवन खरानी बनाइयो ।

व्यक्तिका निजी निवास पनि जलाइयो । त्यसक्रममा आगलागीमा परेर कतिपयले ज्यानै गुमाए । प्रहरीहरु पनि आन्दोलनकारीको निशानामा परे। तीन जना प्रहरीलाई त कुटीकुटी मारियो । देशभरका प्रहरी भवन, कार्यालयहरु जलाइयो । प्रहरीका बर्दी र हातहतियार लुटियो । त्यतिबेला आफ्नो ज्यान जोगाउनु नै प्रहरीका लागि चूनौती बन्यो । बस्ने स्थिति नभएपछि उनीहरु जंगलतिर लागे ।

प्रहरी जंगल पसेपछि देशको सुरक्षाको जिम्मा नेपाली सेनाको हातमा आयो । तर, सेना देश खरानी भएको हेरिरह्यो । दिउँसैदेखि सिंहदरबारसहितका सम्पदा र संरचना बलिरहे । सेना ब्यारेकमा बसेर रमाइलो हेरिरह्यो । मध्यराति सेना सडकमा निस्कियो । तब सबै खरानी भइसकेको थियो । खर्बौको सरकारी तथा निजी सम्पत्ति खरानी बन्यो । अझ भन्नुपर्दा भदौ २४ गते मुलुककै इतिहासमा कालो दिन बन्यो ।

यदि सेना ओलीको राजीनामालगत्तै सडकमा आएको भए नेपालीको इतिहास सिंहदरबार जोगिन्थ्यो । अन्य सार्वजनिक तथा निजी सम्पत्ति पनि खरानी हुने थिएन । विडम्बना, सेना त रमिता हेरेर बसिरह्यो । अनि सबै ध्वस्त भएपछि चाँहि सडकमा निस्कियो । देश खरानी भएपछि फेसबुकमा बालेनको स्टाटस आयो–हाम्रो आन्दोलन सफल भयो, तपाईंहरु घर फर्किनुस् जेनजी ।

सँगै संसद् विघटनको माग पनि अघि सारे । राष्ट्रपति रामचन्द्र पौडेल सैनिक नियन्त्रणमा थिए । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपतिको ठाउँ लिँदै जेनजीसँग वार्ता गरे । देश सरकार वा अभिभावकविहीन थियो । जेनजीले बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखे । र, प्रधानसेनापति सिग्देल मानेपनि । तर, बालेन मानेनन् । देश खरानी बन्नुञ्जेलसम्म उनी फेसबुकमा एकपछि अर्को स्टाटस लेखिरहेका थिए ।

अनि स्थिति नियनत्रणमा आई आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर आवाज उठेपछि उनी सम्पर्कविहीन भए । जेनजीहरुले पटकपटक फोन गर्दासमेत उनले उठाएनन् । जेनजी प्रधानमन्त्रीका रुपमा केबल प्रधानमन्त्री देख्न चाहन्थे । अन्तिमसम्म कोशिस गर्दापनि बालेन नमानेपछि सुशीला कार्की, हर्क साम्पाङ, कुलमान घिसिङ अघि सरे । उनीहरुले प्रधानमन्त्री बन्न आफूहरु तयार रहेको बताए । यद्यपि, बालेनले सुशीलालाई साथ दिए । उनले फेसबुकमा लेखे–सुशीला कार्कीलाई मेरो साथ छ ।

बालेनले यसो भनेपछि जेनजीहरु सुशीलालाई प्रधानमन्त्री बनाउन तयार भए । भदौ २७ गते उनले प्रधानमन्त्रीको शपथ खाइन् । लगत्र्तै बालेनको मागबमोजिम उनले संसद् विघटन गरिन् । र, फागुन २१ गते चुनावको मिति घोषणा गरिन् । त्यतिबेला राष्ट्रपति सार्वजनिक भइसकेका थिए । कार्कीले मन्त्रिमण्डल विस्तार गरिन् । उनी नेतृत्वको सरकार गठन भएको पाँच महिना बितिसकेको छ ।

तर, अहिलेसम्म कार्कीले आफ्नो मन्त्रिमण्डलको सम्पत्ति सार्वजनिक गरेकी छैनन् । निर्वाचन गराउने म्याडेण्टसहित गठन भएको उनी नेतृत्व क्याबिनेटका चार जना मन्त्री राजीनामा दिएर चुनावमा होमिइसकेका छन् । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न प्रधानमन्त्री कार्कीले असोज ७ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिन् ।

शुरुमा आयोगलाई तीन महिनाको समय दिइएको थियो । तर, आयोगको दुई पटक म्याद थप भइसकेको छ । यो आयोगले तत्कालिन प्रधानमन्त्री ओलीदेखि गृहमन्त्री लेखक, प्रहरीका उच्च पदस्थ अधिकारी वा ड्यिुटीमा खटिएका प्रहरी, सिडियो, गृहसचिवलगायतसँग बयान लिएको छ । तर, फेसबुकमबाट आन्दोलनकारीलाई उकास्ने बालेनसँग बयान लिइएन् ।

किन ? यसको जवाफ प्रधानमन्त्री कार्कीले दिनुपर्छ । सुशीला बालेन र रविको समर्थनमा प्रधानमन्त्री बनेको प्रष्ट छ । नभए बालेनसँग आयोगले शतप्रतिशत बयान लिने थियो । सँगै रवि जेलबाट निस्कन र मुद्दा फिर्ती पनि सम्भव हुने थिएन । यसले भदौ २३ र २४ गतेको आन्दोलन जेनजी पुस्ताको नभई बालेन र रविले गरेका थिए भन्ने छर्लाङ्ग छ ।

यदि त्यो आन्दोलन साँच्चिकै जेनजीले गरेको भए उनीहरु किन चुनावमा होमिएनन् ? किन पार्टी दर्ता गरेनन् ? फागुन २१ गतेको चुनावमा जेनजीहरुले किन उम्मेदवारी दिएनन् ? प्रष्ट छ कि भदौ २३ र २४ गतेको आन्दोलन बालेन, रवि, सुशीला, सुधनहरुको योजनामा भएको हो ।

यसरी आफ्नो स्वार्थका निम्ति कलिला विद्यार्थीलाई उचालेर सडकमा ओलार्ने र सिंहदरबारसहित राष्ट्रिय सम्पदा जलाउने बालेन, रविलाई भोट दिने सही व्यक्तिलाई ? जनताले सोच्न आवश्यक छ । रवि आफैं काण्डैकाण्डमा मुछिएका छन्।

अमेरिकादेखि नेपालसम्ममा उनीमाथि दर्जनौं मुद्दा छन् । अनि यस्ता व्यक्तिले देश बनाउँछ ? बालेनले सार्वजनिक बिदाका दिन आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा नै सिंहदरबार जलाइदिने चेतावनी दिएका थिए । अनि यस्ता व्यक्तिहरुबाट देश बन्छ ? फागुन २१ गते निकै सोचविचार गरेर मात्र मतदान गरौं । नभए सत्ताबाहिर हुँदा त मुलुक खरानी बनाउनेहरुले त्यहाँ पुगेपछि केसम्म गर्दैनन् होला ?