जेनजी आन्दोलनपछि पहिलो पटक वेदकोट पुगे पूर्वगृहमन्त्री लेखक,आगजनीबाट ध्वस्त पुर्ख्यौली घरको अवलोकन

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आगजनी गरी ध्वस्त पारिएको कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित आफ्नो पुर्ख्यौली घरको अवलोकन गरेका छन्। जेनजी आन्दोलनपछि लेखक सो घरमा पहिलो पटक पुगेका हुन्।

आन्दोलनका क्रममा लेखकका तीन वटा घरमा आगजनी गरिएको थियो। वेदकोटस्थित पुर्ख्यौली घरसँगै कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको घर र काठमाडौंस्थित निवासमा पनि तोडफोड तथा आगजनी गरिएको थियो। ती घटनाले उनको व्यक्तिगत तथा पारिवारिक जीवनमा गम्भीर क्षति पुगेको बताइन्छ।

वेदकोट र काठमाडौंस्थित घरहरू पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेका छन् भने महेन्द्रनगर बजारको घर भने मर्मतपछि बस्न योग्य बनेको छ। हाल लेखक सोही घरमा बस्दै चुनावी प्रचार–प्रसारमा सक्रिय रहेका छन्।

घरको अवलोकनका क्रममा लेखकले जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्। उनले राजनीतिक असहमति हिंसाबाट होइन, संवाद र लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुनुपर्नेमा जोड दिएका छन्।