समानुपातिकतर्फ अन्तिम बन्दसूची सार्वजनिक, ३ हजार १३५ उम्मेदवार दर्ता

काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक भएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणको अध्ययनपछि अन्तिम नामावली प्रकाशन गरेको हो।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन्।

समानुपातिक तर्फका लागि दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए। आयोगले प्राप्त विवरणको छानबिनपछि अन्तिम सूची सार्वजनिक गरेको हो।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ६३ राजनीतिक दलबाट ५७ दलले समानुपातिक उम्मेदवार पेस गरेका छन् । कुल उम्मेदवारको संख्या ३ हजार १३५ पुगेको छ। समानुपातिक बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरुष उम्मेदवार रहेका छन्।