देशका यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक)तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।
मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा मधेस प्रदेश, कोशी र बागमती प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ।
विभागको मौसम बुलेटिनका अनुसार देशको हिमाली भू–भागका केही स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेधगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

