विश्वकप वार्म-अप: क्यानडामाथि नेपालको सानदार जित
काठमाडौं। आइसीसी पुरुष टी-२० विश्वकपको वार्म-अप खेलमा नेपालले क्यानडामाथि ६ विकेटको सानदार जित हात पारेको छ।
भारतको चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।१६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आसिफ शेखले विष्फोटक सुरुवात दिलाए।
उनले मात्र २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए। अभ्यास खेल भएकाले अर्धशतक प्रहार गरेपछि उनी ‘रिटायर्ड आउट’ भएर पेभिलियन फर्किएका थिए।
अर्का ओपनर कुशल भुर्तेल १२ रनमा आउट भए पनि मध्यक्रममा सन्दीप जोराले सम्हालिएर ब्याटिङ गरे। जोराले ३० बलमा ४ चौका र १ छक्कासहित ४४ रन को योगदान दिए। लोकेश बम ५ रनमा आउट भए।
खेलको अन्त्यतिर गुलसन झा र दीपेन्द्र सिंह ऐरीले टोलीलाई जितसम्म डोर्याए। गुलसन झाले २५ बलमा ५ चौकासहित अविजित ३१ रन बनाए भने दीपेन्द्रले ६ बलमा अविजित ९ रन जोडे।
नेपालले १८ ओभरमै १६२-४ को स्कोर खडा गर्दै जित निश्चित गर्यो। क्यानडाका बलर साद बिन जफरले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए भने जष्करण सिंह र अजयवीर हुन्डलले पनि १-१ विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।
क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रन बनाए। इनिङको अन्त्यतिर श्रेयस मोभाले १९ बलमा अविजित ३८ रन र जष्करण सिंहले ११ बलमा २१ रन प्रहार गरेपछि क्यानडा सम्मानजनक स्कोरमा पुगेको थियो।
बलिङतर्फ नेपालका स्टार स्पिनर सन्दीप लामिछाने नायक बने। उनले ४ ओभरमा मात्र १४ रन दिएर २ महत्वपूर्ण विकेट लिए।
यस्तै, पार्ट-टाइम बलर कुशल भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १-१ विकेट बाँडे।
