जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको छ।

त्यस्तै, दुर्घटनामा परेर ४५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ। जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो ।बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।