६० जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको छ । २५ जिल्लाको त प्याकिङको काम पनि सम्पन्न भइसकेको छ

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ ।

यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ दुवै सम्पन्न भइसकेको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी, प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । यही माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको थियो ।

यस्तै, १० लाख ९८ हजार २०० बराबरको नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । आयोगका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । प्याकिङको काम पनि क्रमशः भइरहेको छ।