कर्णालीमा १८ हजार सुरक्षाकर्मी खटिँदै
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा १८ हजार बढी सुरक्षाकर्मी खटाइने भएको छ।
१० जिल्ला रहेको कर्णालीमा नेपाल प्रहरी र निर्वाचन प्रहरी गरेर १८ हजार पाँचसय २८ जना सुरक्षाकर्मी खटाइने भएको हो।
कर्णालीमा ९ सय ४१ मतदान स्थल र १ हजार ४ सय ३७ मतदान केन्द्र रहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तयारी अवस्थामा रहे पनि निर्वाचन प्रहरीको तालिम सञ्चालन भइरहेको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीसहित १५ हजार ३ सय २८ प्रहरी खट्ने भएका छन् ।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी रामप्रकाश शाहले पाँच हजार पाँचसय ८० जना नेपाल प्रहरी र ९ हजार ७ सय ४८ निर्वाचन प्रहरी फिल्डमा खटिने जानकारी दिए । उनका अनुसार प्रदेशभर अझै ३ सय ३९ प्रहरी अपुग भइरहेको छ।
यस्तै सशस्त्र प्रहरी बलले भने निर्वाचन प्रहरीसहित तीन हजार दुई सय प्रहरी खटाउन थालेको हो। दुईहजार दुई सय सशस्त्र प्रहरी र १ हजार निर्वाचन प्रहरी तयार अबस्थामा राखेको छ।
कर्णालीका ४ सय ४१ मतदान केन्द्रलाई अति संवेदनशीलमा राखिएको छ।
कर्णालीका १ हजार ४ सय ३७ मतदान केन्द्रमध्ये ३ सय १ सामान्य र ६ सय ५१ संवेदनशील सूचीमा छ।
प्रदेश निर्वाचन आयोगका अनुसार, प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ। प्रदेश निर्वाचन आयोगका अनुसार, प्रदेशभर कुल मतदाता संख्या १० लाख ३७ हजार २५० रहेको छ।
