धनुषामा ८४ प्रतिशत किशोरीलाई क्यान्सरविरुद्ध खोप लगाइयो
जनकपुरधाम। धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका विरुद्ध एचपिभी खोप लगाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख उमेश यादवले निःशुल्क लगाइने सो खोप जनकपुरसहित धनुषामा १६ हजार ९०० किशोरीलाई लगाइएको बताए।
उक्त खोप १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लगाइएको उल्लेख गर्दै उनले सो खोप शतप्रतिशत किशोरीलाई दिने सरकारको लक्ष्य रहेकाले आइतबारदेखि कक्षा ६ का किशोरीलाई खोप दिने तयारी भइरहेको बताए।
खोपका सम्बन्धमा जानकारी दिनका लागि विद्यालयका शिक्षकहरूलाई समेत अभिमुखीकरण गरिएको प्रमुख यादवले बताए। नेपालमा वर्षेनि दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको उनले जानकारी दिए। पटक(पटक भएर २० वर्षसम्म सङ्क्रमण रहिरह्यो भने क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक रहेको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मदरसाका किशोरीहरूलाई समेत उक्त खोप लगाउन चेतना जागृत गराउनुपर्ने विचार व्यक्त गरे।
सोही अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले खोप अभियान महत्वपूर्ण रहेकाले विद्यालय बाहिरका किशोरीहरूलाई समेटेर शतप्रतिशतलाई खोप लगाउनुपर्ने सुझाव दिए।
