प्रधानमन्त्री कार्कीद्धारा राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आइसीसी टी-२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिएकी छन् । विश्वकपको समुह सी मा रहेको नेपालले आज इङल्याण्डविरुद्ध दिउसो ३:१५ बजेदेखि खेल्दै छ।
प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गर्दै इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना दिएकी छन्।
उनले भनेकी छन्-आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति।
तेस्रोपटक आईसीसी टी-२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्काररसफलताको आड छ। इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना १ विजयी भवः।
