देशभरका ३ लाख ४५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै
काठमाडौं। पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान आजदेखि देशभर सन्चालन हुदैछ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म यो खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ। कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप दिइनेछ।
गत वर्ष पनि सरकारले खोप अभियान सन्चालन गरेको थियो। सरकारले गत वर्ष करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो। गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरुलाई पनि यसपटक खोप लगाइने छ।
यस वर्ष करिब ३ लाख ४५ हजार किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। त्यसका लागि ४ लाख डोज खोप व्यवस्था गरिएको छ। अत्यधिक चिसो र हिमपातका कारण भने पाँच हिमाली जिल्लामा खोप कार्यक्रम पछि सारिएको छ।
खोप शाखाका अनुसार मुस्ताङ,मनाङ,डोल्पा, मुगु र हुम्लामा फागुनपछि मात्र एचपीभी खोप अभियान सञ्चालन हुनेछ। ती जिल्लामा चैत र वैशाखमा खोप दिइनेछ। एचपीभी खोप अभियानका लागि करिब १० हजार स्वास्थ्यकर्मी र १५ हजार जनशक्ति परिचालन गरिनेछ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये दोस्रो स्थानमा रहेको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ।
