स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउँछौँ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार जारी गरेको भिडिओ वक्तव्यमा उनले नेपालको स्वास्थ्य समस्याको एकमात्र प्रभावकारी समाधान स्वास्थ्य बीमा भएको बताउँदै, कांग्रेसले सरकारको नेतृत्व पाएमा यो कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतामा राखेर चुस्त बनाउने बताए ।
‘यो नेपाली कांग्रेसको आधिकारिक प्रतिबद्धता हो,’ थापाले भने, ‘हामीले जिम्मेवारी पाएपछि स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौं । स्वास्थ्य मन्त्री रहँदा आफैँले यो योजना सुरु गरेको स्मरण गर्दै उनले धेरै बिरामी परिवारले उपचार खर्चले गरिबीमा फर्केको अवस्था देखेपछि यो आवश्यकता महसुस भएको बताए। विश्व स्वास्थ्य संगठन (डब्लुएसओ) को अवधारणा अनुसार नागरिकले खल्तीबाट गर्ने स्वास्थ्य खर्च २० प्रतिशतभन्दा कम हुनुपर्नेमा नेपालमा ५७ प्रतिशत रहेको उनले औँल्याए।
थापाले यो कार्यक्रम सुरुमा राम्रोसँग अघि बढे पनि पछि अस्तव्यस्त बनेको गुनासो गरे । अहिले बन्द हुने हल्ला सुन्दै छु, यसलाई सच्याउन र सुधार गर्नुपर्छ, उनले भने । उनले प्रस्तावित सुधारमा प्रत्येक नागरिकको अनिवार्य बीमा,कमजोर वर्गको प्रिमियम राज्यले व्यहोर्ने, स्वास्थ्यका छरिएका कार्यक्रमलाई बीमामा एकीकृत गर्ने, तीन तहका सरकारको समन्वय, चुहावट रोक्न रियल टाइम डिजिटलाइजेसन र सुशासन सुनिश्चित गर्ने उल्लेख गरे ।
पहिले अस्तव्यस्तता हटाउने, त्यसपछि कभरेज बढाउने र अन्ततः उपचार खर्च पूर्ण रूपमा राज्यले व्यहोर्ने अवस्था सिर्जना गर्ने उनको योजना छ । ‘हेल्थ इज नट च्यारिटी, हेल्थ इज सेक्युरिटी । यो संवैधानिक अधिकार हो,’ थापाले भने । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन कांग्रेसले विस्तृत योजना तयार पारेको उनले बताए ।
