रवि र बालेनमाथि आक्रामक प्रचण्ड,नयाँ राजनीति र पुरानो शक्तिबीचको टकराव चुलिदै

काठमाडौं। सहकारी मुद्दामा जेल धाउँदै गरेका रवि लामिछानेको पक्षमा उभिने पहिलो नेता हुन् पुष्पकमल दाहाल प्रचण्ड। प्रधानमन्त्री भएको बेला आफू नै बद्नामित भए पनि लामिछानेको पक्षमा बोल्ने, जहाँ जेल पर्छन् त्यहीं पुगेर भेट्ने, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनलाई गणतन्त्रको फूल भनेर सम्मान गर्ने प्रचण्ड आज भने ती दुवै पात्रप्रति असहिष्णु र आक्रामक अवतारमा देखिएका छन्।

कुनै समय प्रिय मानेका ती दुई पात्रप्रति नेकपाका संयोजक प्रचण्ड किन यति चिढिएका छन् भन्ने प्रश्न स्वाभाविक बनेको छ। २६ पार्टी र संगठन मिलाएर ठूलो शक्ति प्रदर्शन गर्ने योजनामा अपेक्षित सफलता नपाएको निराशा होला वा नयाँ राजनीतिक पार्टीहरूको व्यवहारले पैदा गरेको चिन्ता होला, उनीहरूले देखाएको जनसमर्थनको स्टन्टले प्रचण्डलाई निकै आहत बनाएको देखिन्छ।

आफू प्रधानमन्त्री हुँदा दुई पटक गृहमन्त्री नियुक्त गरेका लामिछानेलाई आज प्रचण्डले विचार र सिद्धान्तविहीन लोकप्रियतावादीको संज्ञा दिइरहेका छन्। उनको दाबी छ यस्तो राजनीतिक शैलीले लोकतन्त्र र समाजवादमाथि नै प्रहार गरेको छ।

यत्तिमात्र होइन, बालेनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश र उनको प्रचारमुखी शैलीलाई समेत प्रचण्डले वैदेशिक साम्राज्यवादी शक्तिहरूको ठूलो लगानीको परिणाम भनेर चित्रण गरिरहेका छन्। त्यस्ता शक्तिहरूलाई परास्त गर्न आफ्ना कार्यकर्ताहरूलाई मैदानमा उतार्न पनि उनले आह्वान गरिसकेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र पार्टीका बरिष्ठ नेता बालेन प्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्। सार्वजनिक अभिव्यक्ति, राजनीतिक टिप्पणी र भाषणहरूमा प्रचण्डले उनीहरूलाई लक्षित गर्दै कटाक्ष गर्न थालेका छन्।

प्रचण्डको आक्रामकताको मुख्य कारण नयाँ राजनीतिक शक्तिको तीव्र उदय हुन सक्ने आकलन गर्न सकिन्छ। रवि लामिछाने नेतृत्वको रास्वपाले छोटो समयमै वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गरेको छ भने बालेन शाहले स्थापित दलहरूप्रति कठोर प्रश्न उठाउँदै जनस्तरमा बलियो विश्वास निर्माण गरिरहेका छन्।

एक समय परिवर्तन, विद्रोह र जनआन्दोलनको नेतृत्व गरेको कम्युनिष्ट धारा अहिले जनआलोचनाको घेरामा पर्दै गएको छ। त्यसको विपरीत रवि र बालेनले भ्रष्टाचारविरोधी, सुशासन र पुरानो प्रणालीमाथि प्रहार गर्ने एजेन्डालाई मुख्य राजनीतिक मुद्दा बनाएका छन्। यसले ‘परिवर्तनको प्रतिनिधि’ को स्पेस नयाँ पुस्ताको राजनीतिले ओगट्न थालेको देखिन्छ।

सत्ता राजनीतिमा पनि रास्वपाको प्रभाव बढ्दै जाँदा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको निर्णायक भूमिका कमजोर हुँदै गएको अनुभूति गरिएको छ। सरकार गठन, नीति निर्माण र संसदीय बहसमा रवि लामिछानेको उपस्थितिले स्थापित शक्तिहरूलाई असजिलो बनाइरहेको छ।

प्रचण्डको आक्रामकता व्यक्तिगत असन्तुष्टिभन्दा बढी आगामी निर्वाचन र दीर्घकालीन राजनीतिक अस्तित्वसँग जोडिएको छ। रवि र बालेनलाई ‘लोकप्रियतावादी’ वा ‘अनुभवहीन’ देखाउने प्रयासमार्फत नयाँ राजनीतिक धारको प्रभाव सीमित गर्ने रणनीति अपनाइएको देखिन्छ।

तर, यस्तो आक्रामक अभिव्यक्तिले उल्टै रवि लामिछाने र बालेन शाहको राजनीतिक उपस्थिति झनै बलियो बनाइरहेको टिप्पणी पनि बढ्दै गएको छ। जनतामा बढ्दो निराशाबीच यो संघर्षलाई धेरैले ‘पुरानो कम्युनिष्ट राजनीति बनाम नयाँ वैकल्पिक शक्ति’ को रूपमा बुझ्न थालेका छन्।

समग्रमा, रवि लामिछाने र बालेन शाहप्रति प्रचण्डको आक्रामकता नेपाली राजनीतिमा चलिरहेको शक्ति सन्तुलनको परिवर्तनको संकेत हो। अबको राजनीति पुरानो प्रभाव जोगाउने कि नयाँ विकल्पलाई स्वीकार गर्ने भन्ने द्वन्द्वको निर्णायक मोडमा पुगेको देखिन्छ।

प्रश्न उठ्छ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह बालेनप्रति नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड किन यति आक्रामक बन्दै गएका छन् के यो राजनीतिक अस्तित्वको संकट हो वा परम्परागत राजनीतिक शक्तिमाथि देखिएको नयाँ चुनौतीको प्रतिक्रिया? यी प्रश्नमाथि बहस गरिरहेका छन्।