शहिद जनपत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा पत्रकार सम्मान कार्यक्रम सम्पन्न

चितवन। महान शहिद जनपत्रकार कृष्ण सेन इच्छुकको २४ औं स्मृति दिवस प्रेस सेन्टर भरतपुर महानगर कमिटीको आयोजित पत्रकार सम्मान कार्यक्रम उद्योग संघ चितवनको सभाहलमा सम्पन्न भएको छ। प्रेस सेन्टरका उपाध्यक्ष रविचन्द्र अधिकारीले अध्यक्षता गरेको कार्यक्रममा सेन्टरका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेश चन्द्र अधिकारी, अतिथिहरू केन्द्रीय सचिव सन्तोष देउजा, क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम कडेल, सेन्टर वाग्मती सचिव सुमन गैरे, प्रेस युनियन जिल्ला अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी जिल्ला उपाध्यक्ष रमाकान्त शर्मा, जन पत्रकार संगठन जिल्ला अध्यक्ष सूर्य बराल लगायतले कृष्ण सेन इच्छुकको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन उपाध्यक्ष दीपेन्द्र अधिकारीले जनयुद्धमा कृष्ण सेन इच्छुकको योगदान महत्वपूर्ण रहेको बताए। नेपाली कम्युनिष्ट पार्टीका वाग्मती प्रदेश सभासद ईश्वर सापकोटा सुमनले कृष्ण सेन इच्छुक महान जनयुद्धका पत्रकार राज्यको फासिष्ट दमनबाट हत्या गरेको प्रहरी विक्रम थापालाई फेरि जनताले प्रतिनिधिसभामा सभासद बनाएर जनहत्यालाई अनुमोदन दुःखदायी भएको बताए । प्रमुख अतिथि सुरेश चन्द्र अधिकारीले उहाँ सत्य र निष्पक्ष जनताको कलमजिवी जनपत्रकार भएका कारण तानाशाह राज्यले हत्या गरेको प्रष्ट पारे। उनी जनादेश साप्ताहिकका प्रधान सम्पादक रहेका बेला महेन्द्र पुलिस क्लबमा हत्या गरेको समाचार जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले प्रकाशित गर्दा समग्र माओवादी आन्दोलन मात्र होइन देश नै स्तब्ध भएको थियो।

कार्यक्रममा योगदानलाई उच्च कदर गर्दै पत्रकार गोपाल परियार , अजिता अधिकारी र आयुष न्यौपानेलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। कार्यक्रममा कवि पोषराज पौडेलले शहिद कृष्ण सेन इच्छुकको बारे लेखिएको सुन्दर कविता वाचन गरे। पत्रकार चिन्तामणि पौडेलले कृष्ण सेन इच्छुकको समग्र राजनीतिक जीवनको बारे स्पष्ट पारे। कार्यक्रममा बोल्दै प्रेस सेन्टर चितवन अध्यक्ष राजेन्द्र आचार्यले कृष्ण सेन इच्छुकले महान क्रान्तिलाई गरेको बलिदान भुल्न नहुने बताए।सभाध्यक्ष रवि चन्द्र अधिकारीले कार्यक्रममा जिल्लाका उपस्थित पत्रकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरे लगत्तै शहिद जनपत्रकार कृष्ण सेन इच्छुकको सम्झनामा चौबीसकोठीमा दिप प्रज्वलन गरिएको थियो।