जडीबुटी व्यापारीलाई बन्धक बनाउने होटल सञ्चालकसहित तीन पक्राउ

काठमाडौं। आर्थिक लेनदेनको विषयलाई लिएर काठमाडौंमा जडिबुटी व्यापारीलाई अपहरण गरी बन्धक बनाइएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले होटल सञ्चालक र एक स्वास्थ्यकर्मीसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १२, टेकुस्थित ‘रोडलाइन प्यालस होटल’बाट अपहरणमा परेका व्यापारीलाई उद्धार गरेको हो।

प्रहरीका अनुसार उक्त होटलको कोठा नम्बर १०५ मा जडिबुटीको व्यापार गर्दै आएका पूर्णबहादुर बोहरालाई बन्धक बनाएर राखिएको थियो। अपहरणकारीले बोहरालाई केही दिनदेखि सोही कोठामा थुनेर कुटपिटसमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले सोमबार तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा घटना भएको होटलकै सञ्चालक कास्कीका शिवबहादुर घर्ती, जुम्लाका धनराज बस्नेत र सुर्खेत घर भई हाल कलंकी बस्ने फपेन्द्र न्यौपाने रहेका छन्।

पक्राउ परेकामध्ये न्यौपाने टेकुस्थित एक अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) रहेको जानकारी प्रहरीले दिएको छ।

अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी)रामेश्वर कार्कीका अनुसार आपसी लेनदेनको विवादका कारण बोहरालाई अपहरण गरी होटलमा बन्धक बनाएर शारीरिक यातना दिइएको थियो।

पक्राउ परेका तीनै जनामाथि आवश्यक सोधपुछ भइरहेको र थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।